तीनकुने प्रदर्शनमा विध्वंश मच्चाउने दुर्गा प्रसाईंका दुई साता

तीनकुने प्रदर्शनमा विध्वंश मच्चाउने दुर्गा प्रसाईंका दुई साता

काठमाडौं । काठमाडौंको तीनकुनेमा गत १५ चैतमा उद्दण्डता मच्चाएर फरार भएका दुर्गा प्रसाईं दुई सातापछि भारतको आसामबाट पक्राउ परेका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर गरिएको प्रदर्शनको नेतृत्व गरेका प्रसाईंका कारण तीनकुनेमा विध्वंश मच्चिएको भन्दै प्रहरीले उनको खोजी गरेको थियो ।

शान्तिपूर्वक आन्दोलन भनिए पनि सो प्रदर्शन हिंसात्मक बनेको थियो । आन्दोलन हिंसात्मक बन्दा व्यक्तिगत घर जलाउने काम भयो । घरभित्र जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भयो । साथै, प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने दर्जनौं मानिस घाइते भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको भनिएको सो आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भएकाले उनको खोजी भयो । प्रसाईंको खोजी सुरु भएलगतै उनी फरार भए । सो प्रदर्शन हिंसात्मक बन्दा पूर्वराजा ज्ञानेन्द्र शाह विवादमा मुछिए नै प्रसाईं भने तीनकुनेबाट बीएबी ४२०८ नम्बरको स्कार्पियो चढेर एकाएक भागे । प्रहरीले प्रसाईं चढेको स्कार्पियोलाई पछ्याउदै झापासम्म पुग्यो । तर, उनी फेला पर्न सकेनन् । प्रसाईंलाई पछ्याउँदै झापा पुग्दा उनी भारत भागिसकेका थिए । स्कार्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका थिए ।

कसरी भागेका थिए प्रसाईं ?
तीनकुनेबाट भागेका प्रसाईं सुरुमा ललितपुरको इमाडोलस्थित पुष्कर खतिवडाको घरमा पुगेका थिए । त्यहाँ स्याउ, केरा र दूध खाएर उनी हिँडेको खतिवडाले प्रहरीलाई बताएका छन् । इमाडोलबाट चापागाउँ पुगेपछि फर्केर उनी बनेपा हुँदै झापा पुगेका थिए ।

काँकडभिट्टा हुँदै भारत पुगेका प्रसाईंं त्यहाँबाट नयाँदिल्ली, लखनउलगायतका स्थानमा पुगेका थिए । प्रसाईं सुरुमा उत्तर प्रदेशस्थित प्रयागराज पुगेर बसेका थिए । त्यहाँबाट उनी राजस्थान पुगे । आफ्ना सहयोगी दीपक खड्कासहित भारत छिरेका प्रसाईंले केही दिनमै सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरे । १७ चैतमा दिउँसो १ः१२ बजे प्रसाईंको नामबाट पहिलो भिडियो सन्देश जारी भएको थियो, जसमा उनले ‘आफू काठमाडौंकै एक मन्दिरमा रहेको दाबी’ गरेका थिए । त्यसमा प्रसाईंंले आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा हिँडेको दाबी गरेका थिए ।

तर, सो मन्दिर नेपालको नभएको प्रहरीले निष्कर्ष निकालेसँगै प्रहरीको विशेष ब्युरोको टोली प्रसाईंलाई खोज्दै आसाम पुग्यो । विशेष ब्युरो टोलीको नेतृत्व डीआईजी सिद्धिविक्रम शाहले गरेका थिए । विशेष ब्युरोका अधिकृतहरू उत्तर प्रदेशको प्रयागराजमा पुगेका थिए । प्रसाईंको खोजी गर्दै आसाम पुगेको प्रहरी टोली उनले भिडियो बनाएको मन्दिरसम्म पुगेर फर्कियो । प्रसाईंं त्यहाँबाट १८ चैत (३१ मार्च)मा उत्तरप्रदेशको प्रयागराजतर्फ हिँडेका पाइएको छ । त्यहाँ भएको कुम्भमेलामा सहभागी हुन गएका बेला प्रसाईंंले भारतका केही धर्मगुरु र आरएसएससँग जोडिएका व्यक्तिहरूसँग भेट गरेको सुरक्षा संयन्त्रले सूचना पाएको थियो ।

प्रयागराजबाट उनी लखनउ पुगेका थिए । कतैबाट पनि सहयोग नपाएपछि निराश भएका प्रसाईं लखनउमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले साथ दिन्छन् कि भन्ने आशमा त्यहाँ पुगेका थिए । त्यहाँ कुनै सहयोग नपाएपछि उनी दिल्ली आएर राजस्थान, त्यसपछि भरतपुर हुँदै २२ चैतमा पुनः आसाम पुगे । कतै पनि सुरक्षित हुने नदेखेपछि उनले गत बुधबार दोस्रो भिडियो बनाएर सन्देश दिए । जसमा ‘सुरक्षाको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुने’ दाबी गरेका थिए । यद्यपि, त्यतिन्जेल प्रहरी पनि उनको अड्डानजिक पुगिसकेको थियो । प्रहरी अधिकृतहरूका अनुसार आफूले भारतमा सहयोग नपाउने र जुनसुकै बेला पक्राउ पर्नसक्ने ठानेपछि प्रसाईंंले दोस्रो भिडियो जारी गरेका थिए ।

आसाममा उनी नाता पर्ने एक जना स्थानीय हिन्दूवादी नेताको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । बिहीबार साँझ आसाममा पक्राउ परेपछि प्रसाईंं निकटहरूले ‘समर्पण’ गरेको दाबी गरे । तर, उनले आत्मसमर्पण नगरेको प्रहरी अधिकारीहरू बताउँछन् । भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘मैले आफैं पक्राउ दिएको हुँ ।’

नेपाल–भारतको बीचमा आरोपी ‘लेनदेन’ गर्ने कानुनी जटिलताका कारण प्रहरी प्रधान कार्यालयले २७ चैत राति विज्ञप्ति जारी गरेर प्रसाईंंको ‘खोजी भइरहेको’ जिकिर गरेको थियो । त्यतिन्जेल उनी पक्राउ भने परिसकेका थिए ।

प्रसाईंं आसाममा पक्राउ परेको सूचना विशेष ब्युरोबाट चुहिएको थियो । तर, आरोपी सुपुर्दगी गर्न आवश्यक सन्धि नभएको हुनाले उनलाई झापामा पक्राउ गरेको देखाउन प्रहरी बाध्य भएको थियो । बिहीबार राति विज्ञप्ति प्रकाशन गरेर प्रसाईंं पक्राउ नपरेको जिकिर गरेका प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले २४ घण्टा नबित्दै अर्को विज्ञप्ति निकालेर प्रसाईंं पक्राउ गरेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा आचार्यले भनेका छन्, ‘दुर्गा प्रसाईंंलाई भद्रपुरमा भेट्टायौं ।’ प्रहरीले शुक्रबार उनलाई काठमाडौं ल्याएर अदालतमा उपस्थित गराएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार नै उनीविरुद्ध १२ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न मार्ग प्रशस्त गरिदिएको छ । प्रसाईंसँगै रहेका सहयोगी खड्का पनि पक्राउ परेकामा उनीविरुद्ध पनि १२ दिनकै म्याद थप भएको छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १ मा राज्यविरुद्धको कसुरसम्बन्धी व्यवस्था छ । राज्यविरुद्धको कसुरअन्तर्गतको राजद्रोहको कसुरमा उनीमाथि म्याद थप भएको छ ।

संहिताको दफा ५० मा राजद्रोहको कसुर’bout उल्लेख छ । जसमा ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन’ भनी उल्लेख गरिएको छ ।

प्रसाईंविरुद्ध कुन–कुन कसुरमा मुद्दा चल्छ ?
 

प्रसाईंंविरुद्ध शुक्रबार राज्य द्रोहविरुद्धको कसुर र संगठित अपराधको कसुरमा अदालतबाट म्याद थप भएको छ । यदि, कसैले यस्तो कसुर गरेको ठहरेमा २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा उल्लेख छ । अब राजद्रोहको कसुरमा म्याद लिएपछि प्रहरीले उनीमाथि यसका प्रमाणहरू जुटाउनुपर्ने हुन्छ ।

यससँगै अहिले प्रसाईंंविरुद्ध संगठित अपराधको कसुर पनि लगाइएको छ । संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै संगठित अपराधमा समेत अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो । तीन जनाभन्दा बढीको समूह बनाएर ३ वर्षभन्दा बढी कैद सजाय हुने अपराध गरेमा संगठित अपराध हुने कानुनी व्यवस्था छ ।

संगठित समूहको अगुवालाई समेत अनुसन्धानमा तान्न सकिने व्यवस्था भएकाले प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत दायरामा ल्याउन सकिनेगरी संगठित अपराध निवारण ऐन, २०७० को अनुसन्धान पनि अघि बढाएको हो ।

प्रसाईंं पक्राउ परेसँगै उनीमाथि अनुसन्धान गर्दा पूर्वराजासम्म पुग्न सकिने आँकलन पनि गरिएको छ । यो संगठित अपराधको मूल जरो पूर्वराजासम्म पुगेको अवस्थामा उनी पनि कानुनी दायरामा आउनेछन् ।

संगठित अपराधको आरोप स्थापित भएमा अरू मुद्दामा हुने सजायको आधा सजाय थपेर कैद गर्न सकिने व्यवस्था छ । तर, संगठित अपराधको आरोप अघि बढाउँदा प्रहरीले आरोपितहरूमाथि अपराध गर्ने नियतले नै संगठित समूह बनाएको प्रमाण पेस गर्नुपर्ने हुन्छ । प्रसाईंंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा समेत अनुसन्धान अघि बढ्ने निश्चित भएको छ । तीनकुनेमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोप उनीमाथि छ ।

ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीले निवेदन दिने तयारी गरेका छन् । ‘त्यस दिन ड्युटीमा खटिएका प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा निवेदन दिने तयारी गरेका छन्, त्यसपछि ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान हुन्छ,’ परिसर स्रोतले भन्यो । यसका साथै प्रसाईंंविरुद्ध सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति तोडफोड गरेको आरोप पनि छ । जसले सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति तोडफोड गरेको छ, उसैबाट भराउनुपर्ने भन्दै यसअघि नेताहरूले सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए ।

तीनकुने प्रदर्शनमा सार्वजनिक र निजी सम्पत्तिको ठूलो क्षति भएकाले प्रसाईंंविरुद्ध त्यसमा पनि अनुसन्धान गर्ने तयारी छ । यसका लागि उनीविरुद्ध मुलुकी अपराध संहिताको दफा २८५ को आपराधिक उपद्रवको कसुरमा समेत अनुसन्धान हुनसक्ने बताइएको छ । यो दफाअनुसार सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा क्षति पु¥याउन नहुने उल्लेख छ ।

राजधानी दैनिकबाट