काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन अभियान सकिएलगत्तै विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले चुनावको पक्षमा मुख खोलेको छ ।
आगामी २१ फागुनका लागि घोषित निर्वाचनमा ठूला भनिएका दलहरूले खुलेर निर्वाचनमा भाग लिने घोषणा नगर्दा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता पनि नगर्दा चुनाव हुनेमा संशय देखिँदै आएको थियो ।
केन्द्रीय समिति बैठकबाट कांग्रेसले सुरक्षामा प्रश्न उठाए पनि निर्वाचनमा सहभागी हुने बताएर चुनावी सरकारको तयारीमा एउटा ढाडस थपिदिएको छ ।
जेनजी आन्दोलनको जगमा सरकारबाट अपदस्थ हुन पुगेको अर्को ठूलो दल नेकपा एमाले भने अझै पनि चुनावभन्दा संसद् पुनस्र्थापनाकै पक्षमा देखिन्छ । वडा, पालिका, जिल्ला, प्रदेश हुँदै शनिबार संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको एमालेले चुनाव भन्दा संसद् पुनस्र्थापना नै पार्टीको बटमलाइन भएको सन्देश दिएको छ ।
यद्यपि एमालेको आन्तरिक तयारी भने चुनाव लक्षित छन् । तर सरकारविरुद्ध आक्रामक देखिँदै आएको एमालेले वर्तमान सरकारले चुनाव गराउनै नसक्ने तर्क गर्दै आएको छ । आफू चुनावबाट कहिल्यै नभाग्ने बताउने एमालेले चुनावमा भाग लिन्न नभनेर राजनीतिक चतुरता देखाउँदै सरकारले चुनाव गराउनै नसक्ने तर्क राख्दै आएको छ ।
एमालेले यसअघि नै संसद् पुनस्र्थापनाका लागि कानुनी र सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ । शनिबारको सभा सडक संघर्षको निर्णयको प्रतिफल भएको र चाँडै अदालतमा संसद् पुनस्र्थापना र वर्तमान सरकार निर्माणको आधार भत्काउन माग लिएर जाने एमालेको तयारी छ ।
उता विभिन्न ५ दल र ७ राजनीतिक समूह मिलेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा पुनर्गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने चुनावमा भाग लिने घोषणा गर्दै मत माग्नसमेत थालेको छ ।
एमालेले भृकुटीमण्डपमा आमसभा गरिरहेका बेला पार्टी कार्यालय पेरिसडाँडामा जेनजी अभियन्तासहितलाई राखेर सांस्कृतिक कार्यक्रममार्फत नेकपाले आगामी निर्वाचनमा तारा चिन्हमा भोट मागेको छ ।
निर्वाचन आयोगले नेकपालाई तारा चुनाव चिन्ह दिएको छ । पार्टी कार्यालयको कार्यक्रममा बोल्दै नेताहरूले आगामी निर्वाचनमा तारा चिन्हमा भोट हाल्न आग्रह गर्दै चुनावी माहौलमा संलग्न हुन अपिल नै गरे ।
नयाँ पार्टी बनाएपछि नेकपाका नेताहरूले पहिलोपटक चुनावकेन्द्रीत भएर जेनजी पुस्तासँग औपचारिक संवाद गरेका हुन् । कार्यक्रममा प्रचण्डसहितका शीर्ष नेताले जेनजीहरुले चाहेको नेपाल बनाउने वाचा गर्दै चुनावमा होमिने प्रतिबद्धता जनाए ।
कांग्रेसको केन्द्रीय समिति सुरु भएको ४० दिनपछि कांग्रेसले भने निर्वाचनमा जाने औपचारिक निर्णय गरेको हो । बैठकले निर्वाचनमार्फत नै संविधानको रक्षा हुने र जेनजी पुस्ताका माग पुरा गर्न सकिने भन्दै चुनावको पक्षमा निर्णय लिएको हो ।
‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिक र संवैधानिक निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेनजेडको चाहनाबमोजिम परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ,’ बैठकको निर्णयमा भनिएको छ ।
कांग्रेसले निर्वाचन भयरहित वातावरणमा गर्न सरकारको ध्यानाकर्षण भने गराएको छ । ‘निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ । तर, हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हतियार हराइरहनु, राजनीतिक दलहरूले निर्बाध रूपमा आफ्नो कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नु जस्ता यी सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आमनागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ निर्णयमा भनिएको छ ।
महाधिवेशनका विषयमा अनिर्णीत कांग्रेसले भन्यो : प्रतिनिधिसभा विघटन असंवैधानिक
कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । तर विशेष या नियमित महाधिवेशन गर्ने भन्ने विवादमा रुमल्लिएको कांग्रेसले ४० दिन लामो बैठक बस्दासमेत महाधिवेशन विषयमा कुनै निर्णय लिन भने सकेन । महाधिवेशनविषयमा निर्णय लिन नसकेपछि पछि पुनः छलफल गर्ने भन्दै बैठक सकेको हो ।
बैठकले कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ । तर यो विषय सर्वोच्च अदालतले नै टुंगो लगाउने भएकाले यस विषयमा थप छलफल नगर्ने कांग्रेसको निष्कर्ष छ । ।
एमालेसँगै अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाका लागि अदालत जाने विषयमा छलफल भए पनि बैठकले यस विषयमा ठोस निर्णय नगरेपछि अब एमालेसँगै रिट लिएर अदालत जाने सम्भावना सकिएको छ ।
राजधानी दैनिकबाट