काठमाडौं। नेपालका अधिकांश राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेल्दै आएको नेपाली कांग्रेसले ‘जेन-जी’ आन्दोलनपछि भने लय गुमाएको छ। गत भदौ २३/२४ गतेको ‘जेन-जी’ आन्दोलनपछि पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको चर्को बहस भइरहेका बेला कांग्रेस भने आन्तरिक विवादमै अलमलिएको हो।
आन्दोलनपछि परिवर्तित राजनीतिक माहोललाई आत्मसात गर्नुको साटो कांग्रेस आन्तरिक कलहमा फसेको हो। १५औँ महाधिवेशन २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि? कांग्रेसले एक महिनासम्म निर्णय गर्न सकेको छैन।
२८ असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले एक महिनाभन्दा बढी समयसम्म निष्कर्ष निकाल्न सकेको छैन। महाधिवेशनबारे निर्णय गर्न नसकेको कांग्रेस बैठक बारम्बार सारिँदै आएको छ। गत २६ असोजमा बोलाइएको बैठक कार्यसम्पादन समितिमा छलफल जारी भएको भन्दै २८ असोजमा सुरु भएको थियो।
त्यसपछि ३० र ३१ असोज, १, १३, १४, १६, १८, १९, २०, २१, २५, २६ र २७ कात्तिकमा बैठक बसेको छ। २३ कात्तिकको बैठक स्थगित भएको थियो भने २९ कात्तिकदेखि निरन्तर सूचना प्रकाशित गरेर बैठक स्थगित हुँदै आएको छ । २९ कात्तिक, १ र ४ मंसिरमा बस्नेगरी बोलाइएको बैठक सूचना प्रकाशित गरेर स्थगित गरिएको हो।
बैठक स्थगित गरेर शीर्ष तहमा पटक-पटक छलफल गरिए पनि अझै सहमति जुट्न सकेको छैन। यसबारे निर्णय गर्न आज (शनिबार) दिउँसो १ बजे फेरि केन्द्रीय समिति बैठक बोलाइएको छ। तर, नेताहरूबीच आन्तरिक विषयमा सहमति नहुँदा बैठक स्थगित हुने चिन्ता केन्द्रीय समितिमा छ।
पार्टीमा विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसमेत बुझाएका छन् तर, पार्टी संस्थापनले त्यसलाई पनि बेवास्ता गरेको कांग्रेसकै नेताहरू बताउँछन्। कांग्रेस विधानअनुसार विशेष महाधिवेशनका लागि लिखित माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ। उक्त अवधि २८ पुसमा सकिन्छ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित नेता डा. शेखर कोइराला पक्ष चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। सभापति शेरबहादुुर देउवानिकट केही केन्द्रीय सदस्यले पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन्।
उनीहरूले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुवै महामन्त्रीसँग नियमित महाधिवेशन कार्यतालिका ल्याउन आग्रह गरेका छन्। तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका नेताहरू चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। सभापति देउवा पक्षका केही पदाधिकारी र केही पूर्वपदाधिकारी चुनावपछि आगामी वैशाखमा मात्रै १५औँ महाधिवेशन गर्ने पक्षमा उभिएका छ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न नसकिने अवस्था आए आगामी चुनावमा उम्मेदवार नहुने चेतावनी दिएका छन्। चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूलाई दुई महामन्त्रीले आगामी फागुनअघि महाधिवेशन नभए चुनावमा उम्मेदवार नहुने चेतावनी दिएका हुन्।
सभापति शेरबहादुर देउवा पक्षका २५ केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटलमा दुई महामन्त्रीलाई शुक्रबार बिहान भेटेर छलफल गरेका थिए।
छलफलका क्रममा महामन्त्रीद्वयले चुनावअघि महाधिवेशन गराउनै नसकिने अवस्था बने आफूहरू उम्मेदवार पनि नबन्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए। सभापति देउवा पक्षका २५ केन्द्रीय सदस्यले सभापति देउवालाई बिहीबार र कार्यवाहक सभापति कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई शुक्रबार भेटेका हुन्।
सभापति देउवाले चुनावअघि महाधिवेशनका लागि सकरात्मक रहेको केन्द्रीय सदस्यहरूसँग बताएका थिए। पार्टीको नियमित कामबाट आफू बाहिर बसेको हुँदा अन्य पदाधिकारीसँग छलफल गरेर सहमति गर्न देउवाले सुझाव दिएका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। आफूनिकट केन्द्रीय सदस्यसँगको भेटमा सभापति देउवाले पार्टीमा कुनै मनमुटाव र विखण्डन नहोस् भन्ने आफूले चाहेको बताएका थिए। तर, महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्नेबारे कार्यवाहक सभापतिसँग छलफल गर्न उहाँले आग्रह गर्नुभएको नेता राजन केसीले जानकारी दिए।
उनका अनुसार आफूले कार्यवाहक जिम्मेवारी दिइसकेकाले महाधिवेशनबारे उतै छलफल गर्न आग्रह गरेका थिए। अहिले चुनाव आइरहेकाले त्यसलाई पनि ध्यान दिनुपर्ने देउवाको भनाइ थियो। नेताहरूले सामूहिक रूपमा भेट गरेर सभापतिलाई चुनावअघि नै महाधिवेशनको वातावरण बनाइदिन आग्रह गरेका थिए।
‘जेन-जी’ आन्दोलनपछि फरक परिस्थिति बनेको भन्दै अब कांग्रेस पनि रूपान्तरण भएर जानुपर्ने र चुनावअघि महाधिवेशन हुँदा नयाँ नेतृत्व, नयाँ नीति र कार्यक्रम हुँदा पार्टीलाई फाइदा पुग्ने देउवाले बताए।
हिमालय टाइम्स दैनिकबाट