काठमाडौं। साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधवार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ४१.६७ अङ्कले बढेर २ हजार ६ सय ६३ दशमलव ५४ विन्दुमा पुगेको छ।
आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ५ अर्ब २१ करोड रुपैयाँ बराबरको ९७ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधवार ४ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएका २ सय २७ कम्पनीको शेयर मूल्य बढेको छ । १६ कम्पनीको शेयर मूल्य घटेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैङ्क, वित्त, जलविद्युत, जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल पुन विमा कम्पनीको २७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एनआरएनको २५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसरी सर्किट लाग्नेमा गुराँस लघुवित्त रहेको छ। त्यस्तै, यस दिन सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य साढे ८ प्रतिशत बढेको छ।