एक्लियो राप्रपा, किन बोलाइएन विपक्षी दलहरुको बैठकमा ?

एक्लियो राप्रपा, किन बोलाइएन विपक्षी दलहरुको बैठकमा ?

काठमाडौँ । बुधबार सिंहदरबारमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको बैठक बस्यो। बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका थिए। माओवादी संसदीय दल कार्यालयमै बैठक बसेको थियो।

विपक्षी दलहरूको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी हुने गरेकोमा बुधबारको बैठकमा भने राप्रपाका कोही पनि उपस्थित थिएनन्।

प्रचण्डको सचिवालयका अनुसार बुधबारको बैठक संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको हो।  प्रतिनिधि सभामा १४ सांसद रहेको राप्रपाले मंगलबार राजसंस्था पुनर्थापना, हिन्दु राज्य र संघीयता खारेजीलगायत एजेन्डाका लागि भन्दै आन्दोलनमा जाने निर्णय गरेको थियो।

अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख रहेको आन्दोलन परिचालन मूल समितिले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने र वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो।

राप्रपा अहिलेको व्यवस्थाको विरोधमा आन्दोलनमा जान लागेकोले गणतन्त्र पक्षधर विपक्षी दलहरूले राप्रपालाई बैठकमै नबोलाएका हुन्।