काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भुसालले बताए।
उनले चैत २–६ सम्म मातहत कमिटीमा छलफल गर्ने‚ चैत ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–संगठन तथा व्यक्तिसँग संवाद तथा सुझाव संकलन गर्ने बताए। उनले चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गर्ने कार्यक्रम रहेको बताए।
उनले वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने र वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र पेश गर्ने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको छ। यो अभियान बेरोजगारी र कुशासनविरुद्ध क्रान्तिकारी पहलकदमी भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूबीच सहकार्य र एकताको अभियान भएको जिकिर गरे।
नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने आरोप लगाएको छ। सत्ता गठबन्धनले नालायकीपन देखाएको आरोप लगाउँदै यसबारेमा जनतालाई सुचित गर्न जरुरी भइसकेको ठहर गरेको छ। रोजगारी र सुशासन राज्यको मुद्दा नबनुन्जेलसम्म आन्दोलन जारी रहने जिकिर गरेको छ।