काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएआईडी अन्तर्गत बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका थप सात वटा कार्यक्रम रोकिएका छन् । अर्थ मन्त्रालयले सोमबार यसबारे जानकारी दिएको हो ।
‘सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको अवस्था छ’, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरूको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको समेत मन्त्रालयले प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट नेपालमा सन् १९५१ देखि निरन्तररुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयका कारण नेपालमा यस्ता कार्यक्रमहरू रोकिएका छन् ।
