सहकारी ठगी प्रकरण: रविलाई थुन्ने कि छविलाई छाड्ने भन्ने टुंगो एकैपटक लाग्ने

सहकारी ठगी प्रकरण: रविलाई थुन्ने कि छविलाई छाड्ने भन्ने टुंगो एकैपटक लाग्ने

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका नेपाल प्रहरीका पूूर्व डीआईजी छविलाल जोशी र धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा एकैसाथ सुनुवाइ हुने भएको छ ।


बिहीबार उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडी घिमिरेको संयुक्त इजलासमा छविको मुद्दाको पेसी तोकिएको थियो । तर, सरकारी वकिलले लामिछानेको मुद्दालाई पनि जोशीको सँगै राखेर सुनवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन एकैसाथ राख्न आदेश गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि १ करोड धरौटीमा रिहा भएका थिए भने जोशी पुर्पक्षका लाथि कारागार चलान भएका थिए । अब उच्च अदालतले रविलाई पनि थुन्ने कि छविलाई छाड्ने भन्ने टुंगो एकैसाथ गर्ने भएको छ ।

माघ २९ गते जिल्ला अदालतको आदेश बदरको माग गर्दै जोशीका छोरा रोचक उच्च अदालतमा पुगेका थिए । यता सरकारी वकिलले पनि फागुन १ मा लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध पनि निवेदन दिएको थियो ।

यी दुवै मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । यसअघि जोशी गोर्खा मिडियामार्फत सहकारी ठगी गरेको अभियोगमा सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ५० लाख धरौटीमा रिहा भएका थिए ।

सोही मुद्दामा सूर्यदर्शन ठगीमा रास्वपा सभापति लामिछाने ६५ लाख, सुप्रिम सहकारी ठगीमा रूपन्देही जिल्ला अदालतबाट एक करोड, साहारा चितवन सहकारी ठगीमा जिल्ला अदालत चितवनबाट ५४ लाख धरौटी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख धरौटीमा रिहा भएका थिए ।