म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार

म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार

काठमाडौँ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उद्धार गरी पाँच नेपालीलाई नेपाल फर्काएको छ ।

दूतावासले जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएका ती नेपालीको उद्धार गरी शुक्रबार नेपाल फर्काएको हो । उद्धार गरी नेपाल फर्काइएका पाँचजनामा चार पुरुष र एक महिला छन् । “अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई चार पुरुष र एक महिला गरी जम्मा पाँचजनालाई आज (फागुन ९) गतेका दिन नेपाल फर्काइएको छ,” दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैंककस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।

“कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,” विज्ञप्तिमार्फत दूतावासले भनेको छ ।