काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई साथ दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा निस्किएको छ । आज पोखरामा राप्रपाले राजसंस्था पुनस्स्थापनको मागसहित विशाल र्याली आयोजना गर्यो ।
राप्रपाको आजको विरोधसभा पूर्वनिर्धारित नै थियो । तर, पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा गरेको सम्बोधनपछि यो आमसभाको महत्व र सान्दर्भिकता बढेको नेताहरूले बताएका छन् । राजाले खोजेको साथ दिन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ ।
आमसभापूर्व अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व गरेको विशाल र्यालीले नगरपरिक्रमा गरेको थियो । र्यालीमा पार्टीका हस्ती नेताहरूको सहभागीता रह्यो । र्यालीका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले राप्रपा अब सडकमा आएको र नयाँ चरणको आन्दोलनको सुरूवात भएको उद्घोष गरे ।
उनले भने, ‘यो भर्खरै सुरुवात भएको छ । कास्टिङ मात्र हो । अब हामी निर्णायक संघर्षमा होमियौं ।’ राजाको आह्वानलाई मजबुत बनाएर लैजाने निर्णय पार्टीले निर्णय गरेको उनले उल्लेख गरे ।
‘राजाको आह्वानले हामीलाई अझ उत्साह प्रदान गरेको छ । सरकारलाई साथ दिएर जाने निर्णय गरेका छौं । यो कार्यक्रमले राजाको आह्वानलाई मुर्तरुप दिन बाटो खुला गर्छ । आन्दोलन प्रारम्भ भयो,’ उनले थपे । राजाको आह्वानपछि बल प्राप्त भएको उनले बताए । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अवस्था र व्यवस्था परिवर्तनको सुरूवात भएको घोषणा गरे ।