केआईआईटी विश्वविद्यालयले विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएकोप्रति इक्यानको आपत्ति

केआईआईटी विश्वविद्यालयले विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएकोप्रति इक्यानको आपत्ति

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई क्याम्पस छाड्न निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ । 

इक्यान अध्यक्ष शेषराज भट्टराईले आज एक विज्ञप्ति निकाल्दै नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विद्यार्थीलाई क्याम्पस छाड्न निर्देशन दिएकोप्रति गम्भीर आपत्ति जनाएका हुन् । 

विज्ञप्तिमा भनिएको छ–'प्राप्त विवरणअनुसार, मृतक छात्राले केही समयअघि नै विश्वविद्यालय प्रशासनलाई आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी गराए तापनि कुनै कारबाही नभएको र अन्ततः यसै कारणले यस्तो दुःखद घटना घटेको देखिन्छ। अझ दुःखद पक्ष यो छ कि घटनापछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई जबरजस्ती क्याम्पस छोड्न बाध्य पार्नु अन्यायपूर्ण र गैरजिम्मेवारपूर्ण निर्णय हो ।'

नेपालबाट हरेक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने गरेको सन्दर्भमा यस्ता घटनाले विद्यार्थीहरूको सुरक्षा, अधिकार र शैक्षिक भविष्य प्रति गम्भीर प्रश्न खडा गरेको इक्यानले जनाएको छ । 

नेपाल शैक्षिक परामर्श संघले नेपाल सरकारसमक्ष निम्न मागहरू राखेको छः

१ घटनाको निष्पक्ष छानबिन गर्न भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गरियोस् ।

२ मृतक छात्राको परिवारलाई न्याय दिलाउन नेपाल सरकारले भारत सरकारसँग आधिकारिक वार्ता गरियोस् । 

३ केआईआईटी विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गरियोस् । 

४ नेपाली विद्यार्थीलाई जबरजस्ती क्याम्पस छोड्न लगाउने विश्वविद्यालय प्रशासनको निर्णय तुरुन्त खारेज गरियोस् ।

५ केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीहरूसँग माफी माग्दै, तिनको नियमित पठनपाठन सुनिश्चित गरियोस् ।