जनकपुरधाम । जनकपुरधाम–१४ पिडारीचोकमा बिनादर्ता सञ्चालित मुस्कान अस्पतालमा शल्यक्रिया गरिएको एक बिरामीको २० दिनसम्म पनि होस आएको छैन ।
पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्दा सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का अंगेश यादवकी २५ वर्षीया श्रीमती बबिता यादव गम्भीर अवस्थामा पुगेकी हुन् ।
बुबा ब्रह्मदेव यादवका अनुसार माघ ३ गते बबिताको मुस्कान अस्पतालमा डा। ज्ञानकुमार साह नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । त्यसयता उनी होसमा नआएको बुबा ब्रह्मदेवको भनाइ छ ।
शल्यक्रिया पश्चात बबितालाई भेन्टिलेटरमा राखिएको थियो । कुनै सुधार नआएपछि सिटीस्क्यान गराउन अस्पतालले बाहिर पठाएको थियो । सिटीस्क्यान गराएर आइसकेपछि अस्पतालले उनलाई स्नायू सम्बन्धी समस्या रहेको भन्दै अन्तै उपचार गराउन भन्यो ।
त्यसपछि माघ ६ गते उनलाई जनकपुरको जानकी हेल्थकेयरमा लगेर भेन्टिलेटरमा राखियो । तर, त्यहाँ पनि अहिलेसम्म बबिताको होस आएको छैन । अहिले जानकी हेल्थकेयरका चिकित्सकले पनि बबितालाई अरु नै अस्पतालमा लैजान भनिरहेका छन् । तर आर्थिक समस्याले बाहिर लैजान परिवारका सदस्यहरुले सकेका छैनन् । ‘अस्पताल पक्षले बाहिर उपचारको लागि लग्न पटकपटक भन्दा पनि आर्थिक कारण देखाउँदै घरपरिवारले लग्न मानेका छैनन्,’ जानकी हेल्थकेयरका इञ्चार्ज हरिचन्द्र यादव भन्छन् ।