गृहमन्त्री लेखकविरुद्धको जाहेरी प्रहरीद्वारा दर्ता अस्वीकार

गृहमन्त्री लेखकविरुद्धको जाहेरी प्रहरीद्वारा दर्ता अस्वीकार

काठमाडौं। जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । आज (बिहीबार) दलितका लागि दलित अभियानका संयोजक खग्रेन्द्र सुनार गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले गृहमन्त्रीको जाहेरी लिन नमिल्ने बताएको सुनारले सुनाए ।


‘गृहमन्त्री रमेश लेखकले जातीय विभेद र कानुनविपरीतको काम गरेकाले हामी जाहेरी लिइर प्रहरी परिसर भद्रकाली पुगेका थियौं । तर, गृहमन्त्री जोडिएको मुद्दामा जाहेरी लिन मिल्दैन भनेर प्रहरीले दर्ता गर्नै मानेन,’– सुनारले भने।

सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामले अन्तरजातीय विवाह गरेकोमा त्यसलाई छुटाउन गृहमन्त्री लेखक नै लागिपरेको समाचार बाहिरिएको थियो। उक्त प्रकरणमा सत्यन्द्रलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशनमा प्रहरी भारत गएको, सत्यन्द्रलाई बालविवाहलगायतका झुठा मुद्दामा फसाउन खोजेको आरोप लागेको थियो । नेहाका बाबु र गृहमन्त्री लेखकबीच नजिकको दोस्ती रहेको र गृहमन्त्रीले शक्तिको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

दलितका लागि दलित अभियानका संयोजक सुनारले गृहमन्त्री लेखकले जातीय छुवाछुत तथा भेदभावको कसुर गरेकाले अबिलम्ब पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन माग गर्दै जाहेरी लिएर गएका थिए।