वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निमार्णका लागि दबाब दिन चिकित्सकहरू धर्ना बसेका छन्।शुक्रबार बिहान अस्पताल अगाडिको त्रिभुवन राजपथको सडकमा एप्रोन लगाएरै निस्किएका उनीहरूले सडकमै धर्ना दिएर राजपथ केहीबेर अवरुद्ध पनि पारेका छन्।
निर्माणको लागि टेन्डर भएपनि लामो समयदेखि निर्माण कार्य सुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा निरजकुमार सिंहले बताए।
उनका अनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेको छैन। तर नेपालका अन्य केन्द्रीय अस्पतालहरूमा ५ सय शय्याको भवन निमार्ण भई कार्य सञ्चालन समेत भइसकेको बताए।
नारायणी अस्पताल, वीरगञ्जको हाताभित्र ५ सय शय्याको नविन भवन निमार्णका लागि दबाब दिन आज बिहान ११ बजे शान्तीपूर्वक धर्नामा बसी विरोध गरेको सिंहले बताए।