सरकारको आयुलाई लिएर वादप्रतिवादमा ओली-प्रचण्ड

सरकारको आयुलाई लिएर वादप्रतिवादमा ओली-प्रचण्ड

काठमाडौं। वर्तमान सरकारको आयुलाई लिएर प्रमुख दुई कम्युनिष्ट पार्टीका अध्यक्षबीच निरन्तर सवाल जवाफ चलिरहेको छ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारको आयुलाई लिएर सवाल-जवाफ भइरहेको छ।

माओवादी अध्यक्ष प्रचण्डले बारम्बार वर्तमान सरकार धेरै नटिक्ने दाबी गरिरहँदा ओलीले दोहोर्‍याइ/तेहेर्‍याइ प्रतिवाद गर्दै आएका छन्। ओली सरकार चाँडै ढल्ने प्रचण्डको दाबी छ। तर, एमाले अध्यक्ष ओलीले भने आगामी निर्वाचनअघि (कांग्रेससमेत) वर्तमान सरकार नढल्ने दोहोर्‍याउँदै आएका छन्।

यो क्रम मंगलबार पनि कायम रहृयो। मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार २०८४ को मंसिरसम्म चल्ने दोहोर्‍याए। दिनदिनै सरकार ढल्छ भनेर हल्ला चलाइएको उनले बताए।

यसअघि उनले सोमबार मात्रै पनि प्रचण्डलाई जवाफ दिँदै सरकार अहिले ढल्यो र भरे ढल्यो भनेर छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प नभएको बताएका हुन्। सूर्यविनायक नगरपालिकाको प्रसाशकीय भवन उद्घाटनमा बोल्दै उनले कांग्रेस-एमालेले अब अब देशलाई स्थिरता दिने संकल्प गरिसकेको उनले बताए।

ओलीले सरकार नढल्ने दोहोर्‍याइरहँदा यता प्रचण्डको दाबी भने छुटेको छैन। उनले पनि मंगलबारसम्म सरकार धेरै नटिक्ने दाबी दोहोर्याए। मंगलबार समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार बनेदेखि नै दुर्घटनाको जोखिम रहेको दोहोर्याए।

यसअघि सोमबार, आइतबार र शनिबार पनि उनको उस्तै दाबी थियो। त्यति मात्रै होइन माघ १ गते पनि प्रचण्डले सरकार नै ढल्ने दाबी गरेका थिए। उसो त उनले ओली सरकार बनेदेखि नै सरकार ढल्ने दाबी गर्दै आएका छन्। प्रचण्डले सरकार ढाल्न आफूहरूले धेरै बल गर्नै नपर्ने बताउँदै आएका छन्।

तर, बजारमा सरकार ढल्ने चर्चा जति चुलिएको छ गठबन्धन दलहरूले उत्तिकै एकता प्रदर्शन गर्ने प्रयत्न गरिरहेका छन्। कांग्रेस-एमालेबीच सतहमा देखिनेगरी विवाद कुनै छैन। एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच निरन्तर संवाद भइरहेको छ।

सरकार मंसिरमा ढल्छ, तर २०८४ सालको चुनावपछि : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार २०८४ को मंसिरसम्म चल्ने दोहोर्याएका छन्। मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले दिनदिनै सरकार ढल्छ भनेर हल्ला चलाइएको बताए।

२०८४ को निर्वाचनको परिणाम आएपछि सरकार आफैँ परिवर्तन हुने उनको भनाइ थियो।

‘दिनैपिच्छे सरकार ढल्छ, अलि पछि सरकार ढल्छ। बेलुकासम्म सरकार ढल्छ। राति नै ढल्छ। अथवा भोलि बिहान नै ढल्छ। भएन भने दिउँसोसम्म ढल्छ। नभए भोलिसम्मलाई ढल्छ। भोलि नभए पर्सिसम्मलाई सारिदिए। यो हप्ता ढलेन भने अर्को हप्तालाई म्याद सारिदिए। यो महिना ढलेन, अर्को महिनालाई म्याद सारिदिए। साउनमा ढलेन, भदौलाई म्याद सारे। भदौमा पनि ढलेन, दशैँमा सारे। दशैँमा ढलेन मंसिरलाई सारे । कुन मंसिर ? २०८४ मंसिरसम्म ढल्न सक्छ । तर, मान्छेले के अस्तिको मंसिर बुझे । २०८४ को मंसिरको चुनाव । त्यतिबेला सरकार बदलिन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले श्रीलंका र बंगलादेशका उदाहरणका कुरा गरे पनि नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरू प्रकारका अराजकताका बाटोबाट परिवर्तन सम्भव नभएको बताए। ओलीले संविधान संशोधन गर्दा राष्ट्रिय एकतालाई मजबुद बनाउने र स्वीकार्यताको दायरा फराकिलो बनाइने बताए।

यसअघि उनले सोमबार पनि सरकार अहिले ढल्यो र भरे ढल्यो भनेर छाती पिट्नुको विकल्प नभएको बताएका थिए। सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटनमा उनले भने, ‘सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन। नेपाली कांग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्।

यसमा ढुक्क भए हुन्छ,’ उनले भनेका थिए। प्रधानमन्त्री ओलीले दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताएका थिए। ‘सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन। नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ,’ उनले भनेका थिए।

कसैले केही गर्नै पर्दैन, यो सरकार हामी हिँड्दा हिँड्दै ढल्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको आयु लगभग पूरा भएको बताएका छन्। तेह्रथुमको आठराई गाउँपालिका–३ हृवाकुमा निर्मित बगाले शहीद स्मृति पार्कको उद्घाटनमा अध्यक्ष प्रचण्डले सरकार छिट्टै ढल्ने बताएका थिए।

आफूहरूले केही नगरी सरकार आफैँ ढल्ने उनको भनाइ थियो। ‘हामीले केही नगरे पनि यो सरकार ढल्छ, हामी हिँड्दा हिँड्दै ढल्छ, कसैले केही गर्नै पर्दैन,’ उनले भने, ‘हाम्रो नेतृत्वले राम्रो काम गर्न खोजिरहेको थियो तर, दलाल पुँजीपतिहरूलाई बसिखानु भएन, प्रचण्डको नेतृत्व रहिरहे हामी माथि उठ्न सक्दैँनौँ भन्ठानेर रातारात होटेल–होटेल धाएर गठबन्धन बनाए।’

यसअघि यसअघि माघ १ गते मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वर्तमान सरकारको आयु लामो नभएको दाबी गरेका थिए। ओली नेतृत्वको सरकारले आफ्नो आयु आफैँ छोट्याइरहेको टिप्पणी गरेका थिए। तर, प्रचण्डले आफू सरकार गिराउने र सत्तामा जाने खेलमा भने नलागेको जिकिर गर्दै आएका छन्।

हिमालय टाइम्स दैनिकबाट