दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारीमा प्रधानमन्त्री

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणको तयारी गरेका छन्। यसका लागि उनले मिर्गौला प्रत्यारोपण पहिला गर्नुपर्ने स्वास्थ्य परीक्षण सुरू गरेका छन्।

मंगलबार प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको परीक्षण गरेका थिए। उनको मुटुको एन्जिओग्राफी गरिएको र रिपोर्ट सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

केही समयअगाडि प्रधानमन्त्रीले ग्राण्डी अस्पतालमा हड्डीको परिक्षण गरेका थिए। मिर्गौला प्रत्यारोपण गर्नुभन्दा पहिला झण्डै एक महिनादेखि स्वास्थ्य परिक्षण गर्नुपर्छ। सबै परीक्षण सकिएपछि मात्रै मिर्गौला प्रत्यारोपण गर्नुपर्छ, एक मिर्गौला रोग विशेषज्ञले सेतोपाटीसँग भने, उहाँलाई त्यस्तो अरु समस्या भएजस्तो देखिँदैन। त्यही भएर प्रत्यारोपणमा पनि समस्या नहोला।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छोडेको छ। अहिले उनको सातामा एक पटक मिर्गौलाको डायलासिस गर्दै आएका छन्। गत मंसिरमा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको थियो। त्यो बेला उनी उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० दिनसम्म बसेका थिए। अहिले उनी यो समस्याबाट पूर्ण रूपमा ठीक भएका छन्। एपेन्डिसाइटिस भएकै कारण उनको मिर्गौला प्रत्यारोपण पछाडि धकेलिएको हो।

प्रधानमन्त्री ओलीले नेपालमै मिर्गौला प्रत्यारोपण गराउन चाहेको उच्च स्रोतको दाबी छ। त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म सात सयको हाराहारीमा मिर्गौला प्रत्यारोपण भइसकेको छ। जसमध्ये ९८ प्रतिशत प्रत्यारोपण सफल भएका छन्। जबकी ९७ प्रतिशत सफल भएमा त्यसलाई सफलताको उच्चतम बिन्दु मानिने एक वरिष्ठ चिकित्सकले बताए।

शिक्षण अस्पतालमा १० जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइसकेको छ। जसको सफलता शत प्रतिशत छ। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण ग्राण्डीमा गर्न सकिने सम्भावना पनि बलियो छ। निजीमा सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल ग्राण्डी हो।

प्रधानमन्त्रीको चाहना नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने हो। त्यहीअनुसारको तयारी पनि भइरहेको छ। मिर्गौला दिने डोनर पनि तयार छ, उच्च श्रोतले भन्यो, प्रत्यारोपणका लागि नेपालको कानुन पनि लिवरल छ। त्यही भएर नेपालमै गरिने सम्भावना छ। त्रिवि शिक्षण अस्पताल र ग्राण्डीमध्ये एउटामा हुने बताइएको छ।