पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा आउने बाटो तत्कालका लागि बन्द

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा आउने बाटो तत्कालका लागि बन्द

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रूपमा पार्टीगत राजनीतिमा सक्रिय हुने बाटो तत्कालका लागि बन्द भएको छ। नेकपा एमालेको पूर्व-उपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुने चर्चा सुरु भएको धेरै समय भइसकेको छ।

तर, चर्चाले मूर्तरूप पाउन भने सकेको छैन। ११ कात्तिक २०७२ मा राष्ट्रपति बनेपछि भण्डारी राजनीतिक प्रकृतिका कार्यक्रमहरूबाट अलग भएकी थिइन्। २०७९ साल फागुन २९ मा राष्ट्रपतिको दोस्रो कार्यकाल सकेर शीतल निवासबाट बाहिरिएपछि भण्डारी केही समय निष्क्रिय रहिन्।

तर, सात वर्षपछि गत वर्ष १४ असारमा राजनीतिक प्रकृतिको कार्यक्रममा सहभागी भएपछि राजनीतिमा तरंग सृजना गर्‍यो। त्यसयता पूर्वराष्ट्रपति भण्डारी मदन भण्डारी फाउन्डेसनको ब्यानरमुनि राजनीतिक कार्यक्रममा सक्रिय रहँदै आएकी छन्।

प्रथम महिला राष्ट्रपति भएकी भण्डारीसमेत सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाले राजनीतिक वृत्त नतात्ने कुरै भएन। पूर्वराष्ट्रपतिको गतिविधि र अभिव्यक्ति एमालेको आगामी नेतृत्वको तयारी जस्तो देखिएपछि स्वाभाविक रूपमा पार्टी अध्यक्षको चाहना राख्ने एमाले नेताहरूलाई झस्कायो।

एमालेका दोस्रो र तेस्रो तहका कतिपय नेताहरू नै भण्डारीको सक्रियतामा साथ दिन थालेपछि अध्यक्ष केपी शर्मा ओलीसमेत सशंकित बने। भण्डारीको राजनीतिमा आउने सक्रियतामा मलजल गर्दै एमाले नेताहरूले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिङ गर्न थालेपछि अध्यक्ष ओली रुष्ट भए।

उनले सार्वजनिक रूपमै पार्टीभित्र नेतृत्वको विकल्प नखोज्न, चुनौती नदिन र गुटबन्दी नगर्न चेतावनी नै दिए। ओलीको चेतावनीपछि पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियता केही घटे पनि बन्द भने भएको छैन। राष्ट्रपति भइसकेकी भण्डारीले राजनीतिमा आउने रहरै गर्न नहुने ओलीको तर्क छ।

ओलीको अनिच्छाकै कारण राष्ट्रपति भण्डारीको एमालेको राजनीतिमा सक्रिय हुने इच्छा तत्कालका लागि पर धकेलिएको छ। पूर्वराष्ट्रपति भण्डारीबारे पार्टीमा अहिले कुनै छलफल नभएको जिकिर गर्दै एक नेताले भने, ‘उहाँका बारेमा पनि के गर्ने भन्ने कुरा ऐन मौकामै पार्टीले छलफल गर्छ र निष्कर्ष निकाल्छ। अहिले त्यसबारे कुनै सन्दर्भ चलिरहेको अवस्था छैन। विद्या भण्डारी समेतले केही नबोलेको अवस्थामा बाहिर भएका हल्लाकै भरमा पार्टीमा छलफल र निर्णय गर्नु उचित हुँदैन।’

पुनलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
 

सर्वत्र आलोचना भएपछि पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा माओवादी केन्द्रको जिम्मेवारी दिने योजना तत्कालका लागि स्थगित भएको छ । पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक परिपत्रमार्फत पासाङको जिम्मेवारीबारे जानकारी गराउने बताएका थिए।

तर, माघ ८ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पुनलाई जिम्मेवारी दिने विषयमा निर्णय गर्न सकेन। पूर्वउपराष्ट्रपति पुनलाई पार्टीमा जिम्मेवारी दिने विषयमा केन्द्रीय समिति बैठकमा नेताहरूले आलोचना गरेका थिए ।

पार्टीबाहिर पनि राज्यको सम्मानित पदमा पुगेको व्यक्ति पार्टीको सक्रिय राजनीतिमा फर्किँदा गलत सन्देश जाने नेताहरूको तर्क थियो। पुन २०७२ देखि २०७९ सालसम्म उपराष्ट्रपति थिए। २०७९ चैत २ गते उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि उनी बाहिरिएका थिए। लामो समय निष्क्रिय रहेका पुन गत कात्तिक २६ गते खुमलटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा सहभागी भएका थिए।

यस्तै, पुस २३ गते धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा उपाध्यक्षको लहरमा बसेका थिए। बैठकमा पूर्वमन्त्री तथा माओवादीका नेता सुदन किराँती, लेखनाथ न्यौपाने लगायतका नेताहरूले चर्को आलोचना गरेका थिए। पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदि पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने नेताहरूको तर्क थियो।

नेताहरूको चर्को आलोचनापछि अध्यक्ष प्रचण्डले नन्दबहादुर पुन आफूले पार्टीमा ल्याउन लागेको नभई आफैँ आउन चाहेको स्पष्टीकरण दिएका थिए। केन्द्रीय समिति अघि बसेको स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गलत हुने धारणा राखेका थिए। पूर्व-उपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी हाललाई स्थगित भएको जानकारी दिँदै एक पदाधिकारीले भने, ‘पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी थियो ।

पार्टीभित्र प्रश्न उठेपछि स्थगित भएको छ।’ पार्टीभित्र मात्र नभई बाहिर पनि पूर्वराष्ट्रपति तथा पूर्व-उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाबारे राजनीतिज्ञ, बौद्धिक वर्ग, विश्लेषकहरूले आलोचना गर्दै आएका छन्।

हिमालय टाइम्स दैनिकबाट