घाटामा चल्दै माधव नेपालको एकीकृत समाजवादी पार्टी

घाटामा चल्दै माधव नेपालको एकीकृत समाजवादी पार्टी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष ०८०/०८१ को आय–व्ययको लेखापरीक्षण प्रतिवेदनअनुसार एकीकृत समाजवादी घाटामा चलिरहेको छ ।

गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च देखाइएको छ । लेखापरिक्षण प्रतिवेदनअनुसार एकीकृत समाजवादी कूल ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको छ ।

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ।

सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रतिवेदनमा उल्लेख छ ।