काठमाडाैं। बेलायतमा गरिएको एउटा अध्ययनले आफ्नो खानामा धेरै क्याल्सिअम खाने मानिसहरूले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन सक्ने थप प्रमाणहरू पत्ता लगाएको छ।
अध्ययनका अनुसार दैनिक एक गिलास दूध त्यसका लागि सहयोगी हुनसक्छ।
अनुसन्धाताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा धेरै महिलाको आहारको विश्लेषण गरेका थिए। त्यसक्रममा उनीहरूले गाढा-हरियो सागपात, पाउरोटी र गाईको दूध बाहेकका नरिवल वा बदाम लगायतबाट बनाइने दूधको सेवनबाट पनि आन्द्रामा क्यान्सरको जोखिम गर्न मद्दत पुग्ने निष्कर्ष निकालेका छन्।
उनीहरूले अत्यधिक मदिरा सेवन र प्रशोधित मासुको सेवनले भने आन्द्रामा क्यान्सर हुने जोखिम बढाउने बताएका छन्।
क्यान्सरसम्बन्धी परोपकारी संस्थाहरूले स्वस्थ तथा सन्तुलित आहार, स्वस्थ तौल र धूमपान सेवन नगर्नु आन्द्राको क्यान्सरको जोखिम कम गर्ने सबैभन्दा उत्तम उपाय भएको बताउने गरेका छन्।
हालैको एउटा समीक्षाले दुग्ध पदार्थहरूले आमाशय (आन्द्रा) मा हुनसक्ने क्यान्सरको जोखिम कम गर्ने पत्ता लगाएको थियो।
अक्सफर्ड विश्वविद्यालय र क्यान्सर रिसर्च यूकेको अध्ययनले डेरी वा गैरडेरी खानेकुराहरूमा पाइने क्याल्सिअमले क्यान्सर कम गर्नसक्ने देखाएको हो।
हरेक दिनको खानेकुरामा थप ३०० मिलिग्राम क्याल्सिअम वा ठूलो गिलासमा भरी दूध पिउँदा क्यान्सरको जोखिम १७ प्रतिशत कम हुने अनुसन्धानमा उल्लेख छ।
"क्याल्सिअमको कमीका कारण हुनसक्ने आन्द्राको क्यान्सर रोक्न दुग्ध पदार्थहरूको सम्भावित भूमिकाबारे यसले चर्चा गरेको छ," अनुसन्धानको नेतृत्व गरेका अक्सफर्डका किरेन पापिअरले भने।
बिहानको खानामा अन्न, फलफूल, कार्बोहाइड्रेट, सिरिअल, फाइबर र भिटामिन सी खाँदा पनि क्यान्सरको जोखिम कम हुने र दुग्ध पदार्थभन्दा त्यसको प्रभाव अलि कम हुने अध्ययनले देखाएको छ।
उच्च प्रशोधित मासु र रातो मासु अनि मदिराले आन्द्राको क्यान्सरको जोखिम बढाउने यसअघि नै थाहा भइसकेको कुरा हो। तर पछिल्लो अध्ययनले यसबारे थप प्रमाणहरू पत्ता लगाएको छ।
एक दिनमा एक ठूलो गिलास (२० ग्राम) वाइन सेवन गर्दा क्यान्सरको जोखिम १५ प्रतिशतले बढ्ने अध्ययनमा उल्लेख छ। त्यस्तै दैनिक एक औँस रातो र प्रशोधित मासु खाँदा आन्द्राको क्यान्सर हुने जोखिम ८ प्रतिशतले बढ्छ।
जोखिमको प्रतिशत ठ्याक्कै मापन गर्न भने सहज छैन। किनभने हरेक व्यक्तिको आन्द्रामा क्यान्सर हुने जोखिम उसको जीवनशैली, आहार, आनीबानी र आनुवंशिकतामा भर पर्छ।
हाम्रो हड्डी बलियो बनाउन र दाँत स्वस्थ राख्नका लागि क्याल्सिअम महत्त्वपूर्ण खनिज हो। तर यसले निश्चित प्रकारका क्यान्सरहरूबाट पनि हामीलाई जोगाउन सक्ने प्रमाणहरू अहिले बढ्दो क्रममा छन्।
दूध, दही र चीजमा प्रशस्त क्याल्सिअम हुन्छ। हामीमध्ये धेरैजसोको खानेकुरामा क्याल्सिअम पाउने प्रमुख स्रोत दुग्धजन्य पदार्थहरू हुन्।
क्याल्सिअम सोया र चामलबाट बनेको पेय, सेतो पाउरोटी, नट्स, बियाँ र फलफूलहरू जस्तै सुकेको अञ्जीर, कर्ली केल जस्ता अन्य खानेकुराहरूमा पनि पाइन्छ। यो ल्याक्टोज-फ्री दूधमा पनि हुन्छ।
यसले क्यान्सर निम्त्याउन सक्ने पित्त एसिडलाई जमाउने र आमाशयमा फ्याटी एसिडलाई फैलन सघाउने भएका कारण क्याल्सिअमले आन्द्राको क्यान्सरबाट जोगाउन सहयोग पुग्ने अध्ययनमा उल्लेख छ।
यूकेमा हरेक वर्ष करिब ४४,००० मानिसलाई आन्द्राको क्यान्सर हुन्छ। यूकेमा आन्द्राको क्यान्सर चौथो ठूलो क्यान्सर समस्या हो।
धेरैजसो यस्तो क्यान्सर वृद्धवृद्धामा देखिए पनि ५० वर्षभन्दा कम उमेरका वयस्कहरूमा पनि यस्तो समस्या बढिरहेको छ र यसको कुनै स्पष्ट कारण पत्ता लागेको छैन।
विज्ञहरूले खराब आहार र मोटोपना यसको कारण रहेको हुनसक्ने बताएका छन्।
माथिका मध्ये कुनै पनि लक्षण देखिएको अवस्थामा चिकित्सकलाई जाँच गराउन अध्ययनले सुझाव दिएको छ।
यो अध्ययन मानिसहरूको व्यवहारमा गरिएको अवलोकनमा आधारित भएको र परीक्षणमा आधारित नभएका कारण यसले तोकेर क्याल्सिअम वा अन्य कुनै खानेकुराले क्यान्सरबाट बचाउँछ वा यसको सम्भावना बढाउँछ भन्न सक्दैन।
यद्यपि अनुसन्धाताहरूले यो अध्ययन "आहार र आन्द्राको क्यान्सरबारे हलसम्मकै सबैभन्दा ठूलो" भएको बताएका छन्। जसकारण आफूहरूको निष्कर्ष सही भएको उनीहरूको दाबी छ।
यसबाट पत्ता लागेका कुराहरू यसअघिका अध्ययनहरूबाट पत्ता लागेका कुरासँग समेत मेल खाएका छन्।
अध्ययनमा संलग्न पाँच लाखमध्ये १२,००० महिलाहरूलाई आन्द्राको क्यान्सर देखिएको थियो। उनीहरूलाई क्यान्सर हुनुको कारण पत्ता लगाउनका लागि उनीहरूले खाने गरेका करिब १०० वटा खानेकुरा र त्यसमा भएको पोषणको अनुसन्धान भएको थियो।
लीड्स विश्वविद्यालयका पोषण विशेषज्ञ प्राध्यापक जेनेट केड अध्ययनले "समग्र आहारले ठूलो आन्द्रामा क्यान्सरको जोखिमलाई असर गर्न सक्ने महत्त्वपूर्ण प्रमाणहरू उपलब्ध गराएको" बताउँछन्।
लन्डन स्कुल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक एन्ड्रयू प्रेन्टिस औषधिको रूपमा खान मिल्ने क्याल्सिअमले पनि काम गर्ने वा नगर्नेबारे अध्ययन प्रस्ट नभएको बताउँछन्।
किङ्ग्स कलेज लन्डनका प्राध्यापक टम स्यान्डर्स पनि "एक सातामा १४ युनिटभन्दा धेरै मदिरा सेवन गर्ने महिलाहरूमा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढ्ने र हरेक दिन आधा पिन्ट (२७५ मिलिलिटर) गाईको दूध सेवनले त्यस्तो क्यान्सरबाट जोगाउन सक्ने" बताउँछन्।
परोपकारी संस्था बावल क्यान्सर यूकेकी डा. लिसा वाइल्ड यूकेमा "प्रत्येक १२ मिनेटमा" एक जनालाई आन्द्राको क्यान्सर पत्ता लाग्ने गरेको बताउँछिन्। उनका अनुसार स्वस्थ जीवनशैली अपनाउँदा त्यसमध्ये आधा जति क्यान्सरका बिरामी कम गर्न सकिन्छ।
"तपाईँ डेरीको दूध पिउनुहुन्न भने पनि क्याल्सिअमको मात्रा पाउने अन्य उपाय छन्, उदाहरणका लागि ब्रोकली वा तोफुमा पनि यो पाइन्छ। त्यस कारण दूध नपिई पनि तपाईँ आन्द्राको क्यान्सरको जोखिम कम गर्न सक्नुहुन्छ," उनी भन्छिन्।