सहकारी ठगी प्रकरणः प्रतिवादीका वकिलहरूको बहस सकियो

सहकारी ठगी प्रकरणः प्रतिवादीका वकिलहरूको बहस सकियो

कास्की। कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको कानुन व्यवसायीको तर्फबाट बहस  सकिएको छ।

बुधबार मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको कानुन व्यवसायीको बहस सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए।

सोमबार र मंगलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए। यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए।

प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ। त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु  हुनेछ । जवाफी बहस सकिएपछि आदेश आउने छ ।

थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।