भ्रष्टाचार मुद्दा दायर

अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रतिवादीहरूमा उपभोक्ता समितिका केही पदाधिकारीसमेत छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाउँपालिकाको वडा नम्बर १ मा आ.व. २०७५/०७६ र ७६/७७ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन काम गरेको साथै ७६/७७ मा गाउँपालिकाबाट सम्पन्न गरिएको तल्लो बजार नाला तथा ढलान भत्किएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मुद्दा लगाइएकाहरूमा तत्कालीन अध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृतहरू पुरण गुरुङ, कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर नवीन थापा, सव इन्जिनियर सूर्यप्रसाद पौडेल, उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद पौडेललगायत छन् ।

अर्यालसँग ३५ लाख २९ हजार ३३१ रूपैयाँ बिगो र कैद सजाय मागदाबी गरिएको छ । अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।