के तपाईंलाई स्वीटर वा ज्याकेट लगाउँदा एलर्जी हुन्छ ?

के तपाईंलाई स्वीटर वा ज्याकेट लगाउँदा एलर्जी हुन्छ ?

काठमाडौं। नेपालमा जाडोको सिजन शुरु भइसकेको छ । जाडोका कारण मौसमी फ्लू लगायतका विभिन्न रोगहरू पनि देखिएका छन् । त्यसकारण जाडोबाट बच्नका लागि हामी बाक्ला स्वीटर वा ज्याकेट लगाउने गर्छौं । तर कहिलेकाहीँ कपडाका रेशा र तयार गर्ने क्रममा प्रयोग हुने केमिकलहरुका कारण छालामा एलर्जी हुने गर्छ ।

तपाईंलाई यस्तो हुन्छ भने यसलाई मेडिकल भाषामा ‘टेक्सटाइल डर्मेटाइटिस’ भनिन्छ भने आम मानिसले एलर्जी भन्ने गर्छन् । यसप्रकारको एलर्जी किन र कसरी हुन्छ, टेक्सटाइल डर्मेटाइटिस के हो, यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे हामी चर्चा गर्नेछौं ।

ऊनको कपडाले किन एलर्जी हुन्छ ?

ऊनको कपडामा रेजिन्स र केमिकलहरु प्रयोग गरिएका हुन्छन् । संवेनशील छाला छ भने यसले एलर्जी हुन सक्छ । यसले छाला रातो हुने, चिलाउने र सुन्निने हुन सक्छ ।

टेक्सटाइल डर्मेटाइटिस के हो ?

टेक्सटाइल डर्मेटाइटिस एक प्रकारको छालाको समस्या हो । जुन छालाको बाहिर, भित्री र गहिराइसम्म पनि हुन सक्छ । रक्तनली र तन्तुहरुमा असर भएपछि छाला चिलाउने, सुन्निने जस्ता समस्याहरु आउँछन् ।

टेक्सटाइल डर्मेटाइटिसबाट बच्न के गर्ने ?

ऊनी कपडा लगाउनुभन्दा पहिले भित्र एउटा कटन कपडा लगाउँदा एलर्जीबाट बच्न सकिन्छ । यसले तपाईंको छाला र कपडाको दूरी नजिक हुन पाउँदैन । कपडा र छाला रगड्न नपाएपछि भित्री कटन कपडाले तपाईंलाई सजिलो हुनुका साथै आराम समेत मिल्छ ।

घाममा सुकाउने

ऊनी कपडाहरु लगाउनुभन्दा पहिला घाममा सुकाएर मात्र लगाउनुपर्छ । घाममा मज्जाले सुकाउँदा यसमा भएका केमिकलहरु र यसको गन्ध समेत घामको तापले बाहिर निस्कन्छन् । घाममा सुकाउँदा कपडामा केही ब्याक्टेरियाहरु छन् भने पनि नष्ट हुन्छन् ।

जसले गर्दा ऊनी कपडाहरु लगाउँदा तपाईंको छालालाई असर कम हुन्छ । यसका साथै कपडाहरु छनोट गर्दा त्यसमा फाइबर कति छ भन्ने कुरामा समेत ध्यान दिनुपर्छ । यदि तपाईंको छालामा एलर्जीको समस्या छ भने साबुनको प्रयोग पनि गर्नु हुँदैन ।