काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्समाथि पाँच रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुनिश्चित गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो ।
यो हारसँगै पोखराले सात खेलबाट ६ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ । पोखरा प्लेअफ समीकरणबाट बाहिरिँदा सुदूरपश्चिमले भने शीर्ष चार स्थान पक्का गरेको हो । ६ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पोखराका आन्द्रियस गौसले २१ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाए । रेमोन रेफरले २८ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन थपे । किरण ठगुन्नाले २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यी दुईले ६९–५ को स्थितिबाट छैटौँ विकेटका निम्ति ७० रनको साझेदारी गर्दै पोखराको मध्यक्रम सम्हालेका थिए ।
यसबाहेक, ओपनर दिनेश खरेलले १५ र जेन मलिकले १० रन थपे । पोखराका सुदीप अर्याल ‘डायमन्ड डक’ भए । सुदूरपश्चिमका स्कट कुग्गेलेनले पाँच विकेट लिए । ३.४ ओभर बलिङ गरेका कुग्गेलेनले एक मेडन फ्याँक्दै १८ रन खर्चिए । कुग्गेलेनले अन्तिम ओभरको चार बलमा पोखराका तीन ब्याटरलाई पभेलियनको दिशा देखाएका थिए ।
हर्मित सिंहले तीन विकेट लिए । सैब जैबको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका आरिफ सेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ब्रान्डन म्याकमुलमले १६ बलमा एक चौका र दुई छक्कासहित २३ रन थपे । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा एक चौकासहित २० रन जोडे । यस्तै, ओपनर विनोद भण्डारीले १४ रन थप्दा हर्मित सिंहले १३ र इशान पाण्डेले १० रन बनाए । इशान १९औँ ओभरको पहिलो बलमा ‘रिटायर्ड आउट’ भएका थिए ।
पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । चार ओभर बलिङ गरेका कुशलले २७ रन खर्चिए । यस्तै, रेमोन रेफर, सागर ढकाल र माइकल लियस्कले समान एक विकेट लिए ।