पिएसँगै कुरा भएको वामदेवको दाबी, भ्वाइस रेकर्ड सार्वजनिक गर्न ओलीलाई चुनौती

पिएसँगै कुरा भएको वामदेवको दाबी, भ्वाइस रेकर्ड सार्वजनिक गर्न ओलीलाई चुनौती

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी ओली र आफूबीच भएको फोन संवादबारे प्रष्टीकरण दिएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले फोन संवादको अडियो सार्वजनिक गर्न ओलीलाई चुनौती समेत दिए ।

दुई दिनअघि एक भाषणमा ओलीले वामदेवसँगको फोन संवादको किस्सा सुनाएका थिए । ओलीका अनुसार वामदेवले उनलाई स्वकीय सचिव राजेश बज्राचार्य भन्ठानेर कुरा गर्दै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

मदन भण्डारीको हत्या कांग्रेसले गरेको हो भनेर बोलिएको आफ्नो फेक अडिओको आधारमा वामदेवले राजीनामा मागेको ओलीको आरोप थियो ।
ओलीले भनेका छन्, ‘फोन मैले उठाएको थिएँ, तर उहाँ राजेश भन्ठानेर मसित बम्किनुभयो ।’

वामदेवले भने राजेश बज्राचार्यसँग नै आफ्नो कुराकानी भएको दाबी गरेका छन् । मदन भण्डारी सम्बन्धी भिडिओको लिंक पठाएर आफूले ‘प्रधानमन्त्री र अध्यक्षबाट पनि हट्नुपर्ने हुनसक्छ’ भनेको उनको स्वीकारोक्ति छ । यो फोन संवादलाई ओलीले प्रचारको विषय बनाएर आफूलाई बदनाम गर्न खोजेको आरोपसमेत गौतमले लगाएका छन् ।

हेर्नुस् गौतमको वक्तव्य:

प्रिय क. केपी ओली !

अभिवादन !!

तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।

त्यसपछि मैले वहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईँलाई पठाइदिएको छु । तु वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ ।

योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नम्बर राजेश कै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन ।

क। केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।

वामदेव गौतम

१ पुस २०८१