फिफा विश्वकप एसियाली छनोट : नेपालले आज कुवेतको सामना गर्दै

फिफा विश्वकप एसियाली छनोट : नेपालले आज कुवेतको सामना गर्दै

काठमाडौं : फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध नेपालको खेल आज (मंगलबार) हुँदैछ । भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टिमका प्रशिक्षक योहान कलिनले कुवेतसँग अंक खोस्ने दाबी गरेका छन् ।

छनोट चरणमा कुवेतविरुद्धको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । चार अवे खेलमा १ खेल मात्र जितेको नेपाल ३ अंकसहित तालिकाको चौथो स्थानमा छ । शतप्रतिशत जित निकालेको अष्ट्रेलिया १२ अंकसहित शीर्षस्थानमा छ ।

चाइनिज ताइपेईलाई २–० ले हराएपछि नेपालले खेलेको तीनवटै खेलमा पराजय भोगेको छ । नेपाल अष्ट्रेलियासँगग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो । कुवेतविरुद्धको खेलको तयारी स्वरुप म्यानमारसँगको मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले नै हारेको थियो ।

मंगलबार नै जोर्डन र चाइनिज ताइपेई पनि खेल्देछन् । यो खेल जोर्डनमा नेपाली समय अनुसार साँझ पौने आठ बजे हुनेछ । चार खेल सकिँदा चाइनिज ताइपेई जितविहीन छ ।