ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री

ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु छलफलमा जुटेका छन् । मन्त्रिपरिषद् बैठक स्थगित भएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।


सत्तारुढ दल एमाले र कांग्रेसबीच चिनियाँ विकास परियोजना बीआरआईको सम्बन्धमा मत्यैक्यता नहुँदा मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । प्रधानमन्त्री ओली आगमी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । सो क्रममा ओलीले बीआरआई परियोजना कार्यान्वयनका लागि सम्झौता गर्ने तयारी गरेका छन् । तर, कांग्रेसले बीआरआई ऋणमा लिन नहुने अडान लिएपछि सत्तासमीकरणमा खटपट सुरु भएको छ ।

शीर्ष नेताहरुबीचको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको सम्बन्धमा पनि छलफल हुने बताइएको छ । कांग्रेस–एमालेमा कार्य सम्पान कमजोर रहेका मन्त्रीहरुलाई फेर्नुपर्ने आवाज उठ्दै आएको छ । प्रधानमन्त्री ओली पनि कानुनमन्त्री राजकुमार गुप्ता, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषिमन्त्री रामनाथ अधिकारीलगायतको कामबाट असन्तुष्ट रहेको बताइएको छ ।

अहिले छलफलमा प्रधानमन्त्री ओली, सभापति देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस महामन्त्री गगन थापालगायत सहभागी छन् ।