दुई दिन पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

दुई दिन पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्दै सोमबार र मंगलबार केन्द्रीय कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकबाट मंगलबार (भोलि) केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय पनि गरिएको छ । स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार (हिजो) बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरिर श्रद्धाञ्जलीका निम्ति सानोगौचरणमा राखिएको छ ।

मानवअधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका निम्ति ढुंगानाले पुर्‍याएको योगदान स्मरणीय रहने कांग्रेसले जनाएको छ । “मानवअधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उहाँले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ । उहाँको निधनबाट सिंगो देशले वरिष्ठ कानुनविद्, मानवअधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान् एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ,” पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ढुंगाना ०४८ सालको आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी ०४८ देखि ०५१ सम्म प्रतिनिधिसभाको सभामुख भए । ०५१ मा काठमाडौं–२ र ०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट कांग्रेसका तर्फबाट उमेदवार बनेका थिए ।