काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीको बारेमा दिएको चाइना कार्डबारे अभिव्यक्तिलाई लिएर एमालेले गरेको वक्तव्यलाई खुदा पहाड, निक्ला चुहाबाहेक एमालेले केहीपनि नपाउने टिप्पणी गरेका छन्।
ग्लोबल न्यूज नेटवर्क (GNNᴴᴰ TV) लाई दिएको आइतबारको अन्तवार्तामा प्रचण्डले प्रधानमन्त्री ओलीको प्रवृत्तिको बारेमा आफूले टिप्पणी गरेको भन्दै स्पष्ट पारेका हुन्। उनले प्रधानमन्त्री ओलीले तथाकथित राष्ट्रवादको नाममा भ्रम दिने कोशिस गरेको देखिएको आरोप लगाएका छन्।
चाइना कार्डबारे प्रचण्डको स्पष्टोक्ति :
केपीजीको प्रवृत्ति जो प्रतिशोधमा देखिएको छ। लोकतन्त्रका विरुद्ध देखिएको छ । उहाँले तथाकथित राष्ट्रवादको नाममा भ्रम दिने कोशिस गरेको देखिन्छ । मलाई योपनि त थाहा छ-उहाँले सकेसम्म बल त भारत भ्रमण गर्न खोजेको भन्ने सूचनाहरु त आईरहेको छ । नमिलेपछि चीन भनेको देखेपछि मैले यो चाहीँ के कार्ड खेल्न खोजेको हो भनेर प्रश्न पो उठाएको हुँ । यत्तिलाई उहाँहरुले अब ठुलै चिज पाईयो, प्रचण्डले धेरै ठूलो मिस्टेक गर्यो भनिकन वक्तव्य दिनुभएको छ । मलाई लाग्छ उहाँहरुले खुदा पहाड, निक्ला चुहाबाहेक केही पाउनुहुनेछैन ।
उहाँहरुले मनोगत रुपमा, किनभने अहिले सरकार अप्ठ्यारोमा पर्दै गएको छ । उहाँहरुले डूबते को तिनके का सहाराको रूपमा प्रयोग गर्न खोजेको हो कि भन्ने मलाई परेको छ । केपीजीको प्रवृत्तिमाथि मेरो प्रश्न हो । मेरो मनमा त्यो प्रश्न कायमै छ । उहाँ (केपीजी) ले न्यूयोर्कमा मोदीसँग बस्दा मोदीलाई निम्तो दिएको कुरा आएको छ । त्यो भनेको उहाँले निम्तो पनि मागेको हो नि। भारत वा चीन पहिले भन्ने प्रश्न होइन ।