काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन्। रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
अदालत स्रोतले उनीहरु दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्यो। योसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धान गर्ने बाटो खुल्ला भएको छ।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो। अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ।
यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् ।
यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।