कीर्तिपुरको मेयरमा बाबुरामको पार्टीबाट दिलकुमार महर्जनको उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा बाबुरामको पार्टीबाट दिलकुमार महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आज पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
 उपनिर्वाचन कार्यतालिका अनुसार ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।