काठमाडौं । सत्तारूढ दल होस् वा विपक्षी दल सबैलाई अहिले सडकमा शक्ति प्रदर्शन गर्ने होडबाजी चलेको छ । सामान्यतया सरकारमाथि दबाब बढाउन र सरकारलाई आफ्ना एजेन्डा एवं माग सम्बोधनका लागि विपक्षमा रहेका राजनीतिक दलले सडक प्रदर्शन गर्दै आएका छन् । तर, सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले समेत सडकमा शक्ति प्रदर्शन गर्न लागेको छ ।
एमालेका साथै सरकारमा सहभागी नेपाली कांग्रेसले समेत सयदिने पार्टीको अभियान सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दै काठमाडौंमा आउँदो शुक्रबार शक्ति प्रदर्शन गर्दै छन् । प्रदर्शनमा काठमाडौं, ललितपुर, विशेष जिल्ला कमिटी, जनवर्गीय संगठनका साथै सम्पर्क मञ्चलाई समेत परिचालन गर्दै सहभागिताका लागि उर्दी जारी गरिएको छ ।
तर, १६ पुसमा समापन हुने कांग्रेसको सयदिने अभियान शक्ति प्रदर्शन नभई पार्टीको आन्तरिक सांगठनिक कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन भइरहेकामा बाढीपहिरोका कारण स्थगित गरिएको थियो । पूर्णिमापश्चात् पुनः सो अभियान सुरु गरिएको कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जनाएका छन् ।
‘अरू पार्टीको जस्तो सडकमा शक्ति प्रदर्शन नभई हाम्रो यो अभियान पार्टीको विशुद्ध सांगठनिक कार्य हो, संगठनको नियमित बैठक, निर्णय, छलफलको प्रक्रिया, कमिटीको काम गर्ने शैलीका ’boutमा आन्तरिक अभियान हो,’ विश्वकर्माले भने, ‘हाम्रो आठ तहको संगठन छ, त्यसमध्ये ६ तहको सांगठनिक क्रियाकलापका ’boutमा अभियानका क्रममा सांगठनिक कार्य केन्द्रित हुन्छ ।’
अभियानका क्रममा जनताका समस्या, चाहना, आवश्यकता कस्तो किसिमका छन्, त्यसलाई प्रतिवेदन बनाएर केन्द्रमा पठाउने र केन्द्रीय समितिले सरकारमार्फत सम्बोधन गराउनेलगायतका क्रियाकलाप हुने उनले बताए ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पार्टीले गर्ने शक्ति प्रदर्शनलाई सडक संघर्षका रूपमा बुझ्न नहुने बताए । पार्टी र सरकार अलग विषय भएको बताउँदै उनले जागरणसभा सरकारले नभई पार्टीले गर्न लागेको बताए ।
‘सरकारले सामाजिक सद्भाव, एकताको पक्षमा, अराजकता नियन्त्रण र सुशासन कायम गर्ने, विकासको काम अगाडि बढाएर जनअपेक्षा पूरा गर्नुपर्छ,’ गौतमले भने, ‘अहिले उठेका विभिन्न मुद्दा र सार्वजनिक प्रश्नमा पार्टीको दृष्टिकोण प्रस्ट्याउने, सरकारलाई पनि काम र उद्देश्यप्रति सचेत बनाउने काम जागरणसभाले गर्नेछ, सरकार नै सडकमा आएको रूपमा बुझ्नुहुन्न ।’
एमालेले गर्न लागेको जागरणसभाको उद्देश्य अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको सन्देश दिने रहेको उनले प्रस्ट्याए । विपक्षी दलहरूले सरकारको आलोचना गर्दै विभिन्नखाले संघर्षका कार्यक्रम गरिरहेका बेला सत्तारूढ दल एमालेले पनि सडकमा उपस्थिति जनाउन लागेको हो ।
विपक्षीहरूले सरकार अस्वाभाविक रूपमा बनेको, भ्रष्टाचारीलाई संरक्षण गरेको र विपक्षीलाई तर्साउने र सत्तापक्षलाई जोगाउने गरेको लगायतका आरोप लगाउन थालेपछि एमालेले पनि सडकमा शक्ति प्रदर्शन गर्न लागेको हो । विपक्षी दलहरूले सरकारको नीति र नियतमाथि प्रश्न उठाउँदै दबाबमूलक कार्यक्रम गरिरहेका बेला सडकबाटै प्रतिवाद गर्ने सत्तारूढ दल एमालेको तयारी छ ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले भ्रष्टाचार र बेथितिविरुद्ध गत १० कात्तिकमा काठमाडौंमा खबरदारी सभाका नाममा शक्ति प्रदर्शन गरेको थियो । अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा पूर्वाग्रह राखेर हिरासतमा लिएको भन्दै सरकारविरुद्ध प्रदर्शनमै छ । अर्को विपक्षी दल आम जनता पार्टी (आजपा) समेत सरकारको कार्यशैलीको विरोध गर्दै सडकमा शक्ति प्रदर्शन गरिरहेको छ ।
प्रधानमन्त्री ओलीको कार्यशैलीको विपक्षी दलका नेताहरूले तिखो आलोचना गर्दै आएका छन् । विपक्षीलाई तर्साउने, सत्तापक्षका भ्रष्टाचारी एवं अपराधीलाई सरकारले जोगाउने गरेको गम्भीर आरोप सार्वजनिक रूपमै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाउँदै आएका छन् ।
संसद्का सबैभन्दा ठूला दुई दल कांग्रेस र एमालेले सरकार गठन गरेदेखि आलोचना खेप्नुपरेको छ । सरकारमा केही साना दलहरूको समेत सहभागिता रहेको छ । तर, प्रतिपक्षी दलका नेताहरूले भ्रष्टाचारीलाई सरकारले संरक्षण गर्ने गरेको र भ्रष्ट तथा अपराधीलाई जोगाउनकै लागि दुई ठूला दल मिलेको आरोप लगाउँदै आएका छन् ।
ओली सरकारको सय दिन नपुग्दै माओवादीले काठमाडौंमा विरोध प्रदर्शन गर्दै सरकारमाथि धावा बोल्यो । प्रचण्डले संसद्बाटै सरकारको आलोचना गर्दै गम्भीर आरोप लगाए । सार्वजनिक कार्यक्रमहरूमा प्रचण्डले वर्तमान सरकार र गठबन्धन भ्रष्टाचारी जोगाउने जगमा गठन भएको भन्दै सरकारले भ्रष्टाचारी र अपराधी जोगाउने गरेको आरोप लगाएका छन् । काठमाडौंको शक्ति प्रदर्शनपश्चात् पालिकास्तरमै मंसिर मसान्तभित्रमा अधिवेशन र विरोधसभा गर्न माओवादी केन्द्रले निर्देशन गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले पत्रकार सम्मेलन गर्दै सरकारले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले सांसद एवं संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि अनुसन्धान नभएको र उनीहरूमाथि अनुसन्धान गर्नुपर्नेमा सरकारले मौनता साधेको आरोप लगाए । गुरुङ र पोखरेलको नामै किटेर अनुसन्धान हुनुपर्ने प्रवक्ता सापकोटाले बताए पनि सरकारले संरक्षण गरेको आरोप उनको छ ।
लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेपछि रास्वपाले उनको रिहाइको माग गर्दै सडक तताइरहेको छ । निरन्तर सडक प्रदर्शन गरिरहेको रास्वपाले सरकारमाथि गम्भीर आरोपहरू लगाउँदै आफ्ना सभापति लामिछानेलाई पसाउन लागेको भन्दै बचाउ गरेको छ ।
रास्वपा निरन्तर सडक आन्दोलनमा छ । उता, आजपा अध्यक्ष प्रभु साहले सडकबाटै यो व्यवस्था फाल्ने उद्घोषसहित भ्रष्टाचार, अनियमितता, कुशासन, मनोमानी कर वृद्धिका विरुद्धमा मधेसमा ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ गरिरहेका छन् । काठमाडौंमा शनिबार प्रदर्शन गरेको आजपाले शनिबारदेखि नै भ्रष्टाचारविरुद्ध मधेस यात्रा मधेस प्रदेशमा सुरु गरेको छ ।
प्रचण्डको रटान फेरि आन्दोलन
यसैबीच, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताए ।
उनले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्न आवश्यक रहेको औंल्याए । संविधान सभाबाट संविधान बनाउँदा आफूहरूले भनेको जस्तो संविधान नबनेको जिकिर गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि पूर्वदेखि पश्चिमसम्म आन्दोलनको अभियान आवश्यक रहेको उनले बताए ।
प्रचण्डले अहिलेको सरकारको उद्देश्य सुशासनको नभई भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाए । उनले भ्रष्टाचारीहरूलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको दोहो-याए ।
राजधानी दैनिकबाट