काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दिएका छन् ।
आफूविरुद्ध शृङ्खलवद्धरूपमा कुप्रचार गरेको भन्दै पाण्डेले अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् । पाण्डेको तर्फबाट सचिवालय सदस्यले उजुरी दर्ता गराएका छन् ।
पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार लिखित उजुरी दिएका हुन् । कांग्रेस महासमिति सदस्य, गोरखा १ का सांसद तथा पर्यटन व्यवसायी बजगाईँले आफू मन्त्री भएदेखि नै सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएको पाण्डेले उजुरीमा लेखेका छन् । बजगाईँले पार्टीको आन्तरिक अनुशासन र आफ्नो व्यक्तिगत इमान र निष्ठामा धावा बोलेको उनको जिकिर छ ।
मन्त्री पाण्डेले बजगाईँले अमर्यादित, अवाञ्छित, अराजक तथा गैरकानूनी कार्य गरेको भन्दै अनुसन्धान गरी आवश्यक कारवाहीको माग गरेका छन् । सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका थिए ।