काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् उनले संघीय सरकारसँगै काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी र छिमेकी पालिकाले पनि असहयोग गरेको आरोप लगाएका हुन् ।
मेयर शाहले स्थानीय तहको अधिकारमाथि केन्द्र सरकारको हस्तक्षेप गरेको आरोप पनि लगाएका छन् । ‘संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकारमाथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो,’ उनले फेसबूकमा लेखेका छन् ।
काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको शाहको भनाइ छ । उनले अब फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको भन्दै संघीय सरकारलाई चेतावनी दिएका छन् ।
विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर काठमाडौंको फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नगर्ने बाटोमा सरकार लागेको मेयर शाहको आरोप छ । एकाधिकार तोड्न आफूहरू क्रियाशील रहेको उनले बताएका छन् । आफूहरूले वैधानिक मापदण्डअनुसार नै टेन्डर गर्दा पनि नेपवेस्टले मुद्दा हालेको र मुद्दाको फैसला काठमाडौं महानगरकै पक्षमा आएकोसमेत मेयर शाहले स्मरण गराएका छन् ।
‘सम्मानित अदालतले यो अधिकार काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौं,’ उनले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ ।’
मेयर शाहले काठमाडौको फोहोरको दिगो समाधान सम्भव दाबीसमेत गरेका छन् । फोहोर व्यवस्थापन काठमाडौंबासीको अधिकारको कुरा भएकाले सम्भव भएको उनको दाबी छ ।