काठमाडौं । सरकार सञ्चालनको चार महिना पुगे पनि भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीकोे चीन भ्रमणको गृहकार्य सुरु भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार बेइजिङतर्फ लागेको छ ।
एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् ।
पोखरेल नेतृत्वको टोली नानजिङ्गमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिंक ट्यांक फोरम’मा सहभागी हुनेछ । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन् । जाङ्सु, उहान, बेइजिङलगायतका स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर आगामी ६ मंसिरमा टोली स्वदेश फर्किने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी १७ मंसिर (२ डिसेम्बर)मा चीनको राजधानी बेइजिङ जाँदै छन् । १७ देखि २१ मंसिरसम्म प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएको छ । पछिल्लोपटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेट भएको थियो । सोहीबेला चिनियाँ विदेशमन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने भएकाले सो समयमा अन्य कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए ।
नेपाल फर्किएपछि प्रधानमन्त्री ओलीले पार्टीका उच्च अधिकारीहरूसँग आफ्नो चीन भ्रमणका ’boutमा अनौपचारिक छलफल गरेका थिए । एमालेका शीर्ष नेताहरूले चीन भ्रमण गर्न प्रधानमन्त्री ओलीलाई सुझाएका थिए ।
चिनियाँ विदेशमन्त्री यी राष्ट्रसंघको महासभाबाट बेइजिङ फर्किएपछि राष्ट्रपति सीसँग ओलीको भ्रमण’bout छलफल गरेका थिए । त्यसलगत्तै बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई प्रधानमन्त्री ओलीको भ्रमण’bout औपचारिक पत्र पठाएको थियो । दसैंअगावै नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री ओलीलाई चीन भ्रमण’bout राष्ट्रपति सीले पठाएको निमन्त्रणा पत्र दिएको उच्च स्रोतको दाबी छ ।
एमालेका नेताहरूले नेपालका प्रधानमन्त्रीले छिमेकी देशहरूको भ्रमणमा जाने तयारी गर्नुलाई सामान्य ढंगले लिनुपर्ने भन्दै यसलाई नेपाल र भारतबीचको सम्बन्धको प्रकृतिसँग जोड्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।
तर, नेपाली कांग्रेससहितका दलहरूका नेताले दिल्लीले हालसम्म नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नदिनुले भारतसँगको ‘विगतमा देखिएको तिक्तता समाधान नभएको’ छनक मिलेको टिप्पणी गरेका छन् ।
चौथोपटक सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले सत्ता सम्हालेको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि मोदीलाई निम्तो गर्ने प्रयोजनसहित उनले परराष्ट्रमन्त्री आरजु राणालाई दिल्ली पठाएका थिए । तर, भारतले ओलीलाई भ्रमणको निम्तो नदिएको बताइन्छ ।
दिल्लीमा अभूतपूर्व स्वागत पाएकी राणाले भारतीय प्रधानमन्त्रीले नेपालको निम्तो स्वीकार गरेको बताएकी थिइन् । तर, कतिपयले भारतले ओलीलाई भ्रमणको निम्तो पनि नदिने र मोदी नेपाल भ्रमणमा पनि आउन नचाहेको बताउँछन् । प्रधानमन्त्री ओली स्वयंले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सो भेटघाट मिलाउन पनि मिहिनेत गर्नुपरेको थियो ।
नेपालमा सरकार परिवर्तन छिटोछटो हुने गरेको छ । प्रधानमन्त्री नियुक्त भएसँगै भारत भ्रमणको निम्तो दिने गरेको भए पनि यसपटक नयाँ दिल्लीले परम्परा पनि तोडेको जस्तो देखिन्छ । ओलीले सरकारको नेतृत्व गरेको चार महिना पुगे पनि भारत भ्रमणको निम्तोे नपाएपछि उनी चीन भ्रमणमा जानुपरेको टिप्पणी भइरहेको छ ।
तर, एमालेका केन्द्रीय सदस्य एवं विदेश विभागका पूर्वउपप्रमुख विष्णु रिजालले राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको आवश्यकताले भ्रमणहरू आदानप्रदान हुने भन्दै कुनै ‘ओहोदाको प्रमाणपत्र बुझाउन गए जसरी कुनै मुलुकमा जानुपर्छ’ भन्ने मानसिकता त्याग्नुपर्ने बताए ।
‘नेपाल र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा सौहाद्र्धपूर्ण तरिकाले छलफल भएको छ, दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भएको छ,’ रिजालले भने, ‘अरू विभिन्न मन्त्रालयगत भ्रमणहरू पनि आदानप्रदान भइरहेका छन्, औपचारिक भ्रमणका लागि दुवै देशलाई उपयुक्त समय र एजेन्डाहरू आवश्यक हुन्छन्, प्रधानमन्त्री हुनेबित्तिकै कुनै देश गइहाल्नुपर्छ भन्ने छैन, त्यसलाई हामीले यही रूपमा बुझ्नुपर्छ ।’
तर, भारतबाट भ्रमणको निम्तो नपाएपछि प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको तयारी अघि बढाउन निर्देशन दिएका थिए । सोहीनुसार तयारी पनि भयो । उनको चीन भ्रमण तय भएपछि अहिले दुवै पक्षबाट तयारी तीव्र रूपमा भइरहेको छ ।
यसैबीच, परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि चिनियाँ राजदूत छन् सोङका बीचमा सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका ’boutमा भेटमा छलफल भएको हो । प्रधानमन्त्रीको चीन भ्रमणको संयोजनको जिम्मा पनि मन्त्री राणाले पाएकी छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री राणा मंसिर दोस्रो साता चीन जाने भएकी छन् । परराष्ट्रमन्त्री राणा मंसिर दोस्रो साता चीन जानेगरी मन्त्रालयले तयारी थालेको छ । परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार यही नोभेम्बरको अन्तिम साता उनले चीन भ्रमण गर्नेगरी तयारी सुरु भएको छ । औपचारिक मिति भने तय भइनसकेको पाठकले बताए ।
यता, भारत भ्रमणबाट २१ मंसिरमा नेपाल फर्किएका ऊर्जामन्त्री दीपक खड्काले भारतले प्रधानमन्त्री ओलीलाई जुनसुकै बेला भ्रमणमा बोलाउनसक्ने बताएका छन् । मन्त्री खड्काले भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणमा बोलाउनेगरी तयारी थालेको बताए ।
‘भारतले प्रधानमन्त्रीज्यूलाई जुनसुकै बेला भ्रमणमा बोलाउने पाएको छु, भारतीय पक्षले व्यापक तयारी थालेको छ,’ उनले भने, ‘आगामी १७ मंसिरमा प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने तय भएको छ, त्यसका लागि परराष्ट्रमन्त्री डा. राणालाई भ्रमण संयोजनको जिम्मा दिइएको छ ।’ ।
यसपटक प्रधानमन्त्री ओलीले चीन भ्रमणका बेलामा चिनियाँ परियोजनाको कार्यान्वयन र नेपालमा निर्माण भएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नेगरी तयारी थालिएको बताए । यसका साथै अन्य विभिन्न महत्वपूर्ण विषयमा समेत छलफल हुने उनले जनाएका छन् ।
भारतले नेपालमा राजनीतिक स्थायित्व होस् भन्ने पक्षमा रहँदै आएको कुरा त्यहाँका अधिकारीले प्रकट गरेको बताउँदै ऊर्जामन्त्री खड्काले भारतीय नेताहरूले कांग्रेस र एमालेजस्ता भरपर्दा राजनीतिक दलहरू मिलेर सरकार चलाएकामा खुसी व्यक्त गरेको बताए ।
यता, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संसदीय समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण’bout छलफल गर्न आगामी आइतबार बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो । समिति सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई समितिमा उपस्थित गराइने प्रयास भइरहेको छ । परराष्ट्रमन्त्री राणालाई पनि बैठकमा बोलाइएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने लगायतको तयारी रहेको बताइएको छ । बीआरआईअन्तर्गत ऋण लिन हुने र नहुने दुईथरी मत छ । कांग्रेसका सांसदहरूले बीआरआईअन्तर्गत ऋण लिन नहुने र अनुदान मात्रै लिने नीति सरकारले लिनुपर्नेमा जोड दिँदै आएका छन् ।
नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्नुपर्नेमा एमाले र कांग्रेस एकमत छन् । यी लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको समितिले जनाएको छ ।