रास्वपाका कार्यकर्ताले सडक आन्दोलन गर्नुको कुनै औचित्य छैन: देउवा

रास्वपाका कार्यकर्ताले सडक आन्दोलन गर्नुको कुनै औचित्य छैन: देउवा

धनगढी । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले गरिरहेको सडक आन्दोलनको कुनै  औचित्य नभएको बताएका छन् । 

एक साता लामो गृहक्षेत्रको भ्रमणका लागि आइतबार सुदूरपश्चिम आएका पूर्वप्रधानमन्त्री देउवाले धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसका नेताहरूको पनि छानविन भएको,प्रहरीले पक्राउ गरेको बताउँदै उनले मुद्दा परेका बेला पार्टीले अदालतमा विश्वास गरेको बताए ।

‘हाम्रा साथीहरूलाई पनि मुद्दा लागेको छ । पक्राउ परेका छन् । अदालतमा मुद्दा चलिरहेको छ । हामीले त कहिले हो–हल्ला गरेनौं, रास्वपाले पनि अदालतलाई विश्वास गर्नु पर्‍यो नि। अहिले मुद्दा अदालती प्रक्रिायामा छ,' देउवाले भने ।

उनले सत्ता गठबन्धनमा केही असमझदारी देखिएको चर्चा गलत भएको दावी गरे । ‘सत्ता गठबन्धनमा कुनै असमझदारी र समस्या छैन । यो गठबन्धन २०८४ सम्म टिक्छ,ुउनले भने । देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको सचिवालयले जनाएको  छ । देउवाले गृहजिल्लामा उग्रतारा जातमा सहभागी हुनेछन् । अन्य धार्मिक कार्यक्रम पनि सहभागी हुने सचिवालयले जनाएको छ ।