काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।
लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि फेरि म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको हो ।यही कात्तिक १५ गतेदेखि लागू हुनेगरि गत मङ्गलबार लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको थियो । यसअघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि ६ र ७ दिन गरी दुई पटक म्याद थपिएको थियो ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध राखेर हिरासतको समय लम्ब्याउने काम गरिरहेको आरोप लगाउँदै आएको छ ।