छाउगोठ नजादा मलाई देवताको होइन, समाजको डर थियो

छाउगोठ नजादा मलाई देवताको होइन, समाजको डर थियो

अछाम : कमलबजार नगरपालिका–२ बजुडाकी ४३ वर्षीया नरपता विष्ट १३ वर्षको उमेरमा पहिलोपटक महिनावारी भइन् । त्यसयताका ३० वर्ष हरेक महिना छ दिन उनले छाउगोठमै गुजारिन् । जिल्लाभरि छाउगोठ भत्काउने अभियान सुरु भयो । नरपाताको गोठ पनि स्थानीय अगुवा, जनप्रतिनिधि र प्रहरीले भत्काए ।

सोमबार कमलबजार नगरपालिका छाउगोठमुक्त घोषणा गर्दै गर्दा नरपताको अनुहार एकाएक उज्यालो देखियो । गोठ भत्काउन थालेयता उनलाई जीवनमा ठूलै परिवर्तन भएको महसुस भएको छ । ‘ससाना छोराछोरी छन्, आफैं खाना पकाएर खान सक्दैनन् । महिनाको छ दिन म मात्र होइन, चार छोराछोरीसमेत भोकै बसे,’ उनले भनिन्, ‘श्रीमान् भारतमा थिए, घरमा खाना पकाएर आफूलाई र छोराछोरीलाई खुवाइदिने कोही थिएनन् ।’

छोराछोरीलाई भोकै सुताउनुभन्दा आफैं खाना पकाएर खुवाउँछु भन्दै जबर्जस्ती भान्सामा पसेको उनले अनुभव सुनाइन् । ‘नाबालक छोराछोरीको बिचल्ली बनाएर गोठमा म बस्न सकिनँ । एक पटक त खाना पनि पकाएँ तर गाउँले सबै मिलेर मलाई खेद्न थाले,’ उनले भनिन्, ‘मलाई देवताको डर थिएन, समाजको डर थियो ।’ अहिले उनी मात्र होइन, गाउँका सबै महिला छाउगोठमा नजाने भएपछि धेरै खुसी नरपतालाई मिलेको छ । ‘सबैभन्दा धेरै समाजको डर हो । एक्लै बसे समाजले हेला गर्ने, नबसे छोराछोरी भोकभोकै राख्नुपर्ने । यो अभियानले मजस्ता धेरै आमा खुसी भएका छन् ।’

कमलबजार–१ मुलीकी २९ वर्षीया पुतली विष्टको अनुभूति पनि नरपताको जस्तै छ । उनका दुई छोरी, एक छोरा छन् । महिनावारी भएको समयमा कैयौं रात तीन छोराछोरीलाई आफूसँग गोठमा राखेर सुतेको उनको भनाइ छ । ‘श्रीमान् घरमा छैनन् । खाना पकाउने मान्छे पनि कोही भएन,’ उनले भनिन्, ‘तीन छोराछोरी आफूसँगै गोठमा सुताएर बसें । म छाउ भएको थाहा पाए छोराछोरी डाँको छोडेर रुन्थे ।’

प्रहरी र जनप्रतिनिधिको टोली गएर छाउगोठ भत्काइदिएपछि उनी घरमै बस्न थालिन् । छोराछोरीलाई खाना पकाएर खुवाउन सक्ने भइन् । ‘आफैं त छाउगोठ भत्काएर कहिल्यै घरमा बस्न सक्ने थिइनँ,’ उनले भनिन्, ‘समाजसँग लडेर पनि घरमा बस्न सक्दिनथें । अहिले त ढुक्कले बस्न पाइएको छ ।’कार्यक्रममै आएकी बजुडाकी धौली भण्डारी ६० वर्षकी भइन् । आफू महिनावारी भएको समयमा जंगलमा बसेको अनुभव उनीसँग छ ।

‘मेघ, चिसो, हिलो केही नभनी जंगल र ओडारमा बस्यौं । त्यतिबेला यसरी छाउ बार्नु नराम्रो हो भनिदिने कोही थिएनन् । हामीलाई त यो संस्कारजस्तो लाग्थ्यो,’ धौलीले भनिन्, ‘महिला भइसकेपछि एक महिनामा पाँच दिन दुःख भोग्नैपर्ने चलनजस्तो थियो ।’ आफूले भोगेका दुःख छोरीबुहारीले भोग्नुपर्छ भन्ने नलागे पनि समाजले बहिष्कार गर्ने डर रहेको उनले बताइन् । ‘अहिले नराम्रो रैछ, कारबाही हुन्छ भन्ने थाहा भयो,’ उनले भनिन्, ‘अहिलेका छोरीबुहारी त भाग्यमानी हुन् ।’

कमलबजार–७ की अस्मिता खड्कालाई महिनावारीको समय नजिकिँदा ढोकाबिनाको गोठमा रात बिताउने भन्ने पिरलो हुन्थ्यो । गाउँकै विद्यालयमा कक्षा आठमा पढ्ने उनलाई महिनावारी हुँदा दिन छोटा, रात लामा लाग्थे । एक महिनायता महिनावारी भएको समयमा उनलाई कुनै चिन्ता हुँदैन ।

प्रहरी र जनप्रतिनिधिले गोठ भत्काएको र गोठमा बसाए कारबाही गर्ने भन्दै अभिभावकलाई सम्झाइबुझाइ गरेपछि उनी आफ्नै सुत्ने कोठामा सुत्न थालेकी छन् । ‘महिनावारी हुँदा गोठमा जाऊ कसैले भन्दैनन् । यस्तो भने कानुनको डर सबैलाई छ ।’

मंसिर १५ गते राति छाउगोठमा साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएपछि अछामका १० वटै पालिकामा छाउगोठ भत्काउने अभियान सुरु भयो ।

गृह मन्त्रालयले ‘छाउगोठ भत्काउनू, सम्झाइबुझाइ गर्नू र अटेर गरे कानुनी कारबाही गर्नू’ भन्दै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि अछाममा छाउगोठ भत्काउने अभियान पुस ९ गतेदेखि सुरु भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा १० वटै पालिकाका प्रमुख–उपप्रमुखले माघ मसान्तभित्र छाउगोठ भत्काइसक्ने र फागुनभित्र जिल्लालाई छाउगोठमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसैअनुरूप कमलबजार नगरभित्रका ३८२ छाउगोठ भत्काएपछि नगरलाई सोमबार छाउगोठमुक्त घोषणा गरिएको नगरप्रमुख ओमप्रकाश विष्टले बताए ।

प्रहरीका अनुसार जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा बढी चौरपाटी गाउँपालिकामा ८५३ छाउगोठ भत्काइएका छन् । यस्तै साँफेबगर नगरपालिकामा ४६४, मंगलसेनमा ५१९, पञ्चदेवलविनायकमा ३४१, कमलबजारमा ३८२, ढकारी गाउँपालिकामा ७५४, तुर्माखादमा ४४९, मेल्लेखमा ४२७, रामारोसनमा २७२, चौरपाटीमा ८५३, बान्नीगढी जयगढमा ५२९ छाउगोठ गरी जिल्लाभर ५ हजार ८४३ छाउगोठ भत्काइएका छन् ।