काठमाडौंकै मन्दिरमा लुकेको छु भनेका प्रसाईं भारत पुगेको आशंका

काठमाडौंकै मन्दिरमा लुकेको छु भनेका प्रसाईं भारत पुगेको आशंका

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंको तीनकुनेमा ‘अराजक प्रदर्शन’ गरेपटि फरार रहेका विवादित व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको प्रहरीको आशंका छ । 

प्रहरीमाथि नै गाडी चलाउने प्रयास गरेर अघि बढेका प्रसाईंलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर फेरि प्रदर्शन भइरहेको क्षेत्रतर्फ नै छाडिदियो । प्रहरीभित्र यो घटनालाई लिएर ‘प्रहरीको असफलता’ भन्दै चर्को बहस भइरहेको छ ।

गाडीसहित नियन्त्रणमा लिइएको केहीबेरमा प्रसाईं फेरि तीनकुने पुगेका थिए । केहीबेर उनका समर्थकहरूसँग एउटा पसलको सटरमा बसे । त्यहाँसम्म पनि प्रहरी अधिकारी सँगसँगै थिए ।

त्यसपछि प्रसाईं कसरी बाहिरिए ? कहाँ पुगे अहिलेसम्म प्रहरीले पत्तो पाउन सकेको छैन । त्यहाँबाट बेलुका प्रसाईं आफ्ना गुरू पुस्कर खतिवडाको निवासमा पुगेर फलफूल खाएर हिँडेका थिए ।

त्यहाँबाट उनी ‘मोबाइल अफ गरेर भागेको’ प्रहरीका एक अधिकारीले जानकारी गराए । उनका अनुसार प्रसाईंले काठमाडौंकै एक मन्दिरमा लुकेर बसेको छु भने पनि उनी भागेर भारत पुगिसकेको अनुमान गरिएको छ ।