भारत जाँदै राप्रपा महामन्त्री धवल शम्शेर राणा

भारत जाँदै राप्रपा महामन्त्री धवल शम्शेर राणा

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' का आन्दोलन परिचालन समिति प्रमुख धवल शम्शेर राणा उपचारका लागि भारत जाने भएका छन्।

वैशाख १० गते राणा उपचारका लागि भारत जान लागेका हुन्। उपचारका लागि उनलाई प्रहरीले हिरासतमुक्त गरेको थियो। उपचार गरी फर्केपछि राणामाथि प्रहरीले थप अनुसन्धान पनि गर्नेछ। उपचारका लागि उनलाई प्रहरीले आइतबार हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।

राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए। राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणा पनि उक्त कार्यक्रममा पुगेका थिए। तीनकुने क्षेत्रमा प्रदर्शन हिंसात्मक बनेको थियो। दुई जनाको मृत्यु भएको थियो भने तोडफोड र आगजनी भएका थिए।

चैत १५ गते बेलुकी प्रहरीले मिश्र र राणालाई नियन्त्रणमा लिएको थियो भने अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि राणाले उपचारका लागि समय मागेका थिए। उनी केही समयअघि तीन महिना भारतका अस्पतालमा उपचार गराएर स्वदेश फर्केका थिए।

उपचारका लागि प्रहरीले हाजिरी जमानीमा छाडेका राप्रपा महामन्त्री राणाले सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेका छन्। महामन्त्री राणाका अनुसार बुधबार उपचारका लागि भारतको मुम्बई जाने कार्यक्रम छ। महामन्त्री राणाले वरिष्ठ उपाध्यक्ष मिश्र हिरासतमै रहेकोले रिहाइका लागि दबाब आवश्यक रहेको पनि बताएका थिए।