हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाले जित्यो, पाकिस्तान तीन विकेटले पराजित

हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाले जित्यो, पाकिस्तान तीन विकेटले पराजित

काठमाडौँ । हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाली टोलीले जितेको छ । श्रीलंकाले आइतबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई तीन विकेटले हराउँदै उपाधि चुमेको हो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५।२ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाली टोलीले भने पाँच ओभरमै तीन विकेट गुमाएर ७६ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

श्रीलंकाको जितमा ओपनर सन्दुन विराक्कोदीले ३४ रनको योगदान गरे । उनले १३ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । अर्का ओपनर धनन्जय लक्सन भने दुई रनमै पेभेलियन फर्किए । कप्तान लाहिरु मधुसनकाले १९ रन बनाए । उनले पाँच बलमा तीन छक्का प्रहार गरे ।

चौथो नम्बरका ब्याट्सम्यान लाहिरु सामराकुनले पनि अविजित एक रन जोडे । पाँचौँ नम्बरका ब्याट्सम्यान थारिन्दु रत्नायकेले पनि टोलीका लागि अविजित १६०० रनको योगदान गरे । उनले केवल चार बलमा दुई छक्का र एक चौका प्रहार गरे ।  

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर मुहम्मद अखलकले ४८ रनको योगदान गरेका थिए । उनले केवल २० बलको सामना गरी तीन छक्का र पाँच चौका हिर्काएका थिए । अर्का ओपनर आसिफ अली भने शून्य रनमै पेभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान हुसैन तलत पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान फाहिम असरफले १३ रन बनाए । उनले चार बलमा दुई छक्का पनि प्रहार गरे । आमेर यामिन भने ६ रन बनाउँदै आउट भए ।

साहद खान भने एक रनभन्दा अगाडि बढ्न सकेनन् । श्रीलंकाली टोलीका बलर धनन्जय लक्सन र थारिन्दु रत्नायकेले दुई–दुई विकेट लिए । निमेष विमुक्थी र लाहिरु मधुसनकाले पनि एक–एक विकेट हात पारेका थिए ।  

प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियालाई चार विकेटले र श्रीलंकाले बंगलादेशलाई तीन विकेटले हराएर फाइनलमा स्थान पक्का गरेका थिए । यो प्रतियोगितामा नेपालको पनि सहभागिता रहेको थियो । तर, नेपाली टोली प्रतियोगिताको क्वार्टरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको थियो ।