भ्रमण वर्षको प्रचारसगै ओखलढुंगामा खिजिदेम्बा अल्ट्रा म्याराथन प्रतियोगिता हुने

भ्रमण वर्षको प्रचारसगै ओखलढुंगामा खिजिदेम्बा अल्ट्रा म्याराथन प्रतियोगिता हुने

ओखलढुंगा : ओखलढुंगाका पर्यटकीय गन्तव्य चिनाउने तथा भ्रमण वर्षको प्रचार प्रसार गर्ने उद्देश्यले खिजिदेम्बा अल्ट्रा म्याराथन दौड आयोजना हुने भएको छ । ४२ किलोमिटर लामो म्याराथनका विजेतालाई आकर्षक पुरस्कार राशीको समेत घोषण गरिएको छ ।

ओखलढुङ्गा पर्यटन विकास समितिको आयोजनामा आगामी फागुन १९ गते दोस्रो संस्करणको अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । गतवर्ष हाफ अल्ट्रा म्याराथन भएकोमा यसपटक भने अन्तर्राष्ट्रिय खेलाडीको सहभागितामा ४२ किलोमिटरको म्याराथन दौड आयोजना गर्न लागिएको आयोजक ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङावा ङिमा शेर्पाले जानकारी दिए ।

खिजीदेम्बा गाउँपालिका, नेपाल पर्यटन बोर्ड र नेपाल माउन्टेनरिङ एशोसिएशनसँगको समन्वयमा म्याराथन गर्न लागिएको उनले बताए । म्याराथन दौडले नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने आयोजकको भनाइ छ । पिके हिमालको फेदीसम्म हुने म्याराथन खिजिदेम्बा गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको रुट हुँदै खिजी फलाटेमा समापन हुनेछ । म्याराथन दौड चुप्लुभञ्याङ, थोलेदेम्बा, ताक्लुङ, ल्ह्मुचे, बुलबुले, दोराखर्क, ताउर हुँदै पुनः खिजीफलाटेमा आएर समापन हुने शेर्पाले बताए ।

महिला पुरुषबीच प्रतियोगितात्मक रूपमा हुने म्याराथनको विजेताले नगद ७० हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि फागुन ८ गतेसम्म नाम दर्ता गर्न आयोजकले सूचना जारी गरेको छ । पत्रकार सम्मेलनमा ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले म्याराथन दौडले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताए । उनले ओखलढुंगाको पर्यटन विकासमा अरु रुटहरुको बारेमा समेत अध्ययन भइरहेको बताए ।