राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्

राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्

काठमाडौं। दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने त्रासमा रहेका विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। अध्यादेश रोकिदिन माग गर्दै शीतल निवास पुगेका विपक्षी दलका नेताहरुलाई राष्ट्रपति पौडेलले भने आइहाले बोलाएर परामर्श गर्ने आश्वासन दिएका छन्।

प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक बोलाएका थिए। त्यहाँ दलहरुले दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गरेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने निर्णय गरेका थिए।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी र आम जनता पार्टी गरी पाँच दलले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए। भेटमा नेताहरुले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याउन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री ओलीले अहिले कुनै दल फुटाएर एमालेमा मिलाउने आफ्नो योजना नरहेको जवाफ दिएका थिए।

तर सत्ता घटक नेपाली कांग्रेसको साथ नपाएर मात्र ओली रोकिएको विपक्षीको बुझाइ छ। जुन दिन कांग्रेस सभापति शेरबहादुर देउवा तयार हुन्छन्, तत्क्षणमा दल विभाजनसम्बन्धी अध्यादेश आउने उनीहरुको विश्लेषण छ।

राष्ट्रपति पौडेलसँग भएको भेटमा पनि विपक्षी दलका नेताहरुले सरकारले कुनै पनि बेला अध्यादेश ल्याउनसक्ने बताए । प्रधानमन्त्री ओली बाढी पहिरो प्रभावित जनताप्रति जवाफदेही नभएको र पूर्वाग्रही ढंगले काम गरिरहेको उनीहरुले बताएका छन् । कांग्रेस र एमालेले मुलुकलाई दुई पार्टी प्रणालीतर्फ लैजान लागेको भन्दै उनीहरुले यो लोकतन्त्रका लागि घातक हुने बताए ।

‘केपी ओलीले लोकतन्त्रलाई समाप्त पार्ने हो कि भन्ने चिन्ता हामीले राख्यौं र दल विभाजनका निम्ति अध्यादेश आउनसक्छ, त्यसलाई (राष्ट्रपतिले) रोक्नुपर्छ भन्यौं’, भेटमा सहभागी आजपाका नेता तिलक थापा मगरले भने।

जवाफमा राष्ट्रपति पौडेलले भने संविधानले आफ्नो सीमा तोकेको स्मरण गराए । ‘उहाँले अध्यादेश आइहाले कानुन हेरेर गर्छु, तपाईंहरुलाई पनि बोलाएर परामर्श गरौंला भन्नुभयो’, नेता थापा मगरले सुनाए ।

राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि विपक्षी दलका नेताहरुले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको बताए । ‘राष्ट्रपतिले संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु भन्नुभएको छ’, पोखरेलले भने ।

राष्ट्रपति पौडेलसँग भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।