'गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन'

'गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन'

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताउँदै यो जग्गामा मारवाडी समितिको मोही हक नलाग्ने स्पष्ट गरको हो।

कोषले विज्ञप्तिमा भनेको छ- ‘भगवान् श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नदिई भगवानको सम्पत्तिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुने कुरामा दुई मत छैन, हुनु पनि हुँदैन। राज्य चलाउन आवश्यक पर्ने राजश्व भन्दा पनि उच्च स्वरूपमा भगवानको शिवस्व, देवस्व र ब्रह्मस्वले यस्तो नियत राख्ने जो कोहीलाई पनि पोल्ने छ भन्ने पनि हामीलाई राम्रोसँग ज्ञान छ।’

सर्वोच्च अदालतको फैसला बमोजिम मारबाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरेको कोषले जनाएको छ। मारबाडी सेवा समितिबाट वार्षिक ५१ हजार रुपैयाँ धर्मशाला सञ्चालन गरेबापत गरी उपलब्ध गराउने दुई पक्षको सहमति भएको थियो । सम्झौता अनुसार रकम उपलब्ध नगराएको र भाडादर पुनरावलोकन हुने व्यवस्था भएपनि मारवाडी सेवा समिति लागि तयार नभएको कोषले जनाएको छ।