नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले सोमबार घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएको हो।

गत २०८० असोज १ गते संशोधन भएको न्याय परिषद् नियमावलीको विरोधमा बारले आन्दोलन गर्दै आएको छ। संशोधित नियमावली गैर संवैधानिक रहेको बारको जिकिर छ । बारले विगत १ वर्षदेखि उक्त संशोधित नियमावली खारेजीको माग गर्दै आएको थियो।

उक्त नियमावली खारेज नगरी न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि नबढाउन बारले दवाब दिइरहेको थियो। बारको आन्दोलनलाई बेवास्ता गर्दै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न बैठक बसेपछि कानुन व्यवसायीहरुले न्याय परिषद् घेराउ गरे। न्याय परिषद् घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद् र न्यायलय भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाए।

‘भ्रष्टाचारको दल–दलमा न्यायलय फसेको छ । भ्रष्टाचारको दलदलमा न्याय परिषद् फसेको छ। यसरी भ्रष्टाचारको दलदलमा फसेर जबरजस्ती न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया न्याय परिषद्ले अपनाएको छ । हामी उहाँहरुलाई चुनौति दिन चाहन्छौं– सक्नुहुन्छ हामीलाई जेलमा कोच्नुहोस्। होईन भने हामी भ्रष्टाचार गर्न दिँदैनौं । पवित्र न्यायलयमा बसेर भ्रष्टाचार गरेर न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । हामी यो विषयको खण्डण गर्न चाहन्छौं,’ उनले भनेका थिए ।

उनको सोही अभिव्यक्तिलाई लिएर सर्वोच्च प्रशासनले अध्यक्ष घिमिरेलाई अदालतको अवहेलना मुद्दा दर्ता गरेको हो । बारका अध्यक्ष घिमिरेले भने आफू उक्त मुद्दा फेश गर्न तयार रहेको बताएका छन् ।