काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नागढुंगा शुक्रबार बेलुकादेखि नै बन्द रहेको छ ।
नागढुंगाभन्दा तल ठाउँ ठाउँमा पहिरो र बाढीको असर रहेकाले बाहिरिने सवारी साधनलाई रोकिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख डीआईजी भरत बोहोराले जानकारी दिए ।
उनका अनुसार ठाउँ ठाउँमा पहिरो गएको छ । त्यसैले काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुंगाबाट अघि बढ्न दिइएको छैन भने काठमाडौं भित्रिने सवारी साधनलाई पनि चितवनदेखि नै ठाउँ ठाउँमा रोकिएको छ ।
“चितवनबाट यता आउने सवारीलाई त्यहीँ रोक्न भनिएको छ,” उनले भने, “सहज नभएसम्मका लागि सडक खुलाउन सकिने अवस्था छैन ।” उनले मौसम सामान्य भएपछि सडकको अवरोध खुलाएरमात्रै सवारी साधनलाई छाडिने जानकारी दिए ।