देउवाको ‘ग्रीन सिग्नल’ शशांकतिर

देउवाको ‘ग्रीन सिग्नल’ शशांकतिर

काठमाडौं। नेपाली कांग्रेसका नेतात्रय प्रकाशमान सिंह, डा. शशांक कोइराला र विमलेन्द्र निधिले संवाद थालनी गरेका छन्। सोमबार उनीहरुबीच शशांक निवास महाराजगञ्जमा लामो छलफल भएको छ । नेतात्रयको कांग्रेसभित्र छुट्टै इतिहास छ । उनीहरु कांग्रेसका चर्चित नेताहरुको सन्तान हुन्।


शशांक विश्वेश्वर प्रसाद कोईरालाका छोरा हुन् । त्यस्तै, प्रकाशमान गणेशमान सिंहका छोरा हुन् भने विमलेन्द्र महेन्द्रनारायणका छोरा हुन् । उनीहरुलाई कांग्रेसका ‘राजकुमार’ को संज्ञासमेत दिइने गरेको छ ।

उपप्रधानमन्त्री एवंम् सहरी विकासमन्त्रीसमेत रहेका प्रकाशमान र विमलेन्द्रलाई शशांकले आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् । पछिल्लो समय पार्टीको नेतृत्व लिने विषयलाई लिएर यी नेताहरुबीच पटक–पटक संवाद हुने गरेको स्रोतको दाबी छ ।

पार्टीको आगामी १५औं महाधिवेशनमा नेतात्रयले साझा धारणा बनाएर नेतृत्व कब्जा गर्ने रणनीति बनाइरहेको बताइएको छ । गत १४औं महाधिवेशनमा विमलेन्द्र र प्रकाशमानले सभापतिमा दाबी गरिरहँदा केन्द्रीय सदस्यमात्रै उठेका शशांकले आगामी महाधिवेनमा सभापतिको बाजी मार्न अभ्यास गरिरहेको धेरैको अनुमान छ ।

संस्थापनइत्तर धारको नेतृत्व गरिरहेका शेखर कोइराला पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवाको प्रतिस्पर्धी थिए । सभापतिमा पराजीत भएका शेखर र देउवाबीच भागबण्डा नमिल्दा अहिले पनि बेला–बेलामा टकाराब देख्न सकिन्छ । पार्टीको विधानअनुसार देउवा अब सभापति बन्न पाउँदैनन् । देउवाको रोजाइमा भावी सभापति शशांक रहेको पनि चर्चा हुन थालेको छ ।

कांग्रेस संस्थापन समूहबाटै भावी सभापतिको रुपमा चर्चा पाएका शशांकले राजनीतिक विरासत बोकेका दुई प्रभावशाली नेताहरुसँग संवाद र वार्तालाई बढवा दिनुलाई धेरैले आगामी महाधिवेशनको तयारीका रुपमा लिएका छन् । विधानअनुसार आगामी २०८२ मंसिरमा कांग्रेसको १५औं महाविधेशन हुनेछ । संस्थापनइत्तर समूहले भने महाधिवेशन धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै आएको छ ।