श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो ।

तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिएका हुन् । सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा भट्टराईसँग भने स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।

तर भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए । सभापति ईश्वरीदेवी न्यौपानेले थप समय दिन नसक्ने भन्दै आफैंले नाम फिर्ता लिने वा समितिले अस्वीकार गर्ने दुईवटा विकल्प मात्र रहेको जानकारी दिएकी थिइन् ।

त्यसपछि भट्टराईले मंगलबार समितिमा आफूले नाम फिर्ता लिएको पत्र दर्ता गराएर गएका उनले बताइन् । १४ साउनमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये अष्ट्रेलियाका लागि सिफारिस कान्ता भट्टराईको नाम सरकारले सुनुवाइ समितिमा नै पठाएन । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।