रविको स्टाटसले अमेरिकामा रहेका ओलीलाई तनाव, कार्यक्रम रद्द

रविको स्टाटसले अमेरिकामा रहेका ओलीलाई तनाव, कार्यक्रम रद्द

काठमाडौं ।  न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि‘ ।

यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आइतबार राति लेखेको फेसबूक स्टाटस हो, जसलाई सहकारीको रकम दुरुपयोग गरेको मुद्दामा कारबाही गर्न संसदीय समितिले सिफारिस गरिसकेको छ ।

उनलाई आइतबार (हिजो) पक्राउ गर्ने भनेर प्रहरी तम्सिएको थियो तर, अन्तिममा सकेन । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गर्ने भनेर सूचना अगडि नै पठाइसकिएको थियो । सूचना पाउनेबित्तिकै उनी पार्टी मुख्यालय, चमतिस् वनस्थली हान्निएका थिए ।

यसको केहीबेरमा त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका नेताहरू पनि मुख्यालय पुगिहाले । त्यसपछि काठमाडौंमा उपलब्ध पार्टीका सबै तहका नेता-कार्यकर्ताहरूलाई मुख्यालय आउन सर्कुलर जारी गरियो । त्यसको एक घण्टाभित्र चस्मतिस्थित रास्वपा मुख्यालयमा खचाखच मान्छे थुप्रिए । नेता-कार्यकर्तासँगै समर्थक, मिडियाकर्मी हुँदा रास्वपा मुख्यालयको प्राङ्गण भरिभराउ थियो ।

लामिछानेलाई पक्राउ गर्ने तयारीका साथ प्रहरी पनि रास्वपा मुख्यालय नै पुगेको थियो तर, अन्तिममा नेता-कार्यकर्ता र समर्थकको भीड लागेपछि प्रहरी यतिकै फर्कियो । त्यसबेला झन्डै ९ बजिसकेको थियो ।

प्रहरी फर्किएपछि पनि झन्डै २ घण्टा पार्टीका पदाधिकारी तथा नेताहरूसँग पार्टी मुख्यालयमै रहेका रवि १२ बजे घर फर्किए र उल्लिखित स्टाटस राखे ।
पार्टी मुख्यालयबाट प्रहरी फर्किएपछि ‘पक्राउ गरिए प्रतिवाद गर्छौँ‘’ भन्दै समर्थकलाई उक्साएका लामिछानेले घर फर्किएपछि स्टाटस लेखेर राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर, भने— न्यूयोर्कबाट आँखा नसन्काउनुस् !

उता न्यूयोर्कमा प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम थियो । कार्यक्रमको सबै तयारी पूरा भइसकेको थियो । प्रधानमन्त्री ओलीसँग उनीसँगै रहेका परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको तस्वीरअङ्कित कार्यक्रमको ब्यानर बनिसकेको थियो तर, अन्तिममा कार्यक्रम नै रद्द भयो ।

किन ? सुरक्षा थ्रेट भयो रे ! न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ— सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाज्यूको संयुक्त राष्ट्रसङ्घको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।

 त्यहाँ आइतबार यहाँ रवि लामिछाने पक्राउ गर्ने प्रकरण ‘रिफ्लेक्ट’ भएको रास्वपा नेताहरू स्वीकार्छन् । रास्वपाका एक नेता भन्छन्, “एउटाले मात्रै सधैँभरि एकतिरबाट पेल्ने भन्ने हुँदैन, त्यसरी हुँदैन, चल्दैन । त्यहाँ (अमेरिकामा) हामीलाई समर्थन गर्ने साथीहरूबाट शान्तिपूर्ण विरोध गर्ने भन्नुभएको थियो होला । त्यसपछि पनि कार्यक्रम नभएको हो ।”

रास्वपा उपसभापतिसमेत रहेका पार्टीको प्रवास नेपाली सम्पर्क विभागका प्रमुख डोलप्रसाद (डीपी)अर्यालले भने यहाँबाट कुनै निर्देशन नदिइएको दाबी गर्छन् “यहाँबाट कुनै निर्देशन वा यसो गर्नु भनेर भनिएको छैन,” विभाग प्रमुख अर्यालले  भने, “तर, त्यहाँ राजनीतिक रूपमा हामीलाई समर्थन गर्ने साथीहरूले विरोध गर्ने भन्नुभयो होला । तर, अफिसियल्ली रूपमा मकहाँ त्यस्तो कुनै सूचना प्राप्त भएको छैन ।”

त्यहाँ कार्यक्रम हुने थाहा पाएपछि रास्वपा समर्थक तथा पहिचानवादी सङ्घ-सङ्गठनहरूले नाराबाजीको योजना बनाएका थिए । यसपछि प्रधानमन्त्री ओली आफैँ डराएर कार्यक्रम रद्द गर्न निर्देशन दिएका थिए ।