रवि सहकारी ठग हुन्, तत्काल समातेर प्रहरीलाई बुझाउनुपर्छ : मुकुल ढकाल

रवि सहकारी ठग हुन्, तत्काल समातेर प्रहरीलाई बुझाउनुपर्छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन्। आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई समेत अनुरोध गरेका छन्।

'प्रिय रास्वपा मित्रहरू( हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ,'उनले लेखेका छन्,' विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनुहुँदैन,गर्नुहुँदैन ।'

लामिछानेमाथि सहकारीको अरबौं रकम अपचलन गरेको आरोप छ। सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न गठित छानबिन विशेष समितिले पनि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कारवाहीका  लागि सिफारिस गरेको छ।

समितिले प्रतिवेदन बुझाएपछि आइतबार गृहमन्त्री रमेश लेखकले सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन तत्काल अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए। गृहमन्त्रीको निर्देशन लगत्तै  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले सिफारिस गरेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सोही सिफारिसमा परेका सभापति लामिछानेसमेत पक्राउ पर्ने आशंका गरिएको थियो।

पूर्वडीआइजी जोशी पक्राउ परेपछि लामिछानेले काठमाडौं उपत्यकामा रहेका आफ्ना कार्यकर्ताहरूलाई केन्द्री कार्यालय वनस्थलीमा बोलाएका थिए। आइतबार राति करिब १० बजेसम्म पार्टी कार्यालय बाहिर रास्वपाका कार्यकर्ता,समर्थक तथा सञ्चारकर्मीको भीड लागेको थियो।

लामिछानेले सहकारीबाट आएको रकम गोरखा मिडिया नेटवर्कमार्फत् अपचलन गरेको समितिले ठहर गरेको छ। लामिछाने प्रबन्ध निर्देशक रहेकै समयमा पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको समितिको ठहर छ ।