साउदीमा श्रम कानुन उल्लंघन : ३ हजार आप्रवासी श्रमिक पक्राउ

साउदीमा श्रम कानुन उल्लंघन : ३ हजार आप्रवासी श्रमिक पक्राउ

काठमाडौं । साउदीले श्रम कानुन उल्लंघन गर्ने ३ हजारबढी आप्रवासीलाई पक्राउ गरेको छ । त्यहाँको सुरक्षा र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

यस्तै, रेसिडेन्सी ऐन उल्लंघन गर्ने १४ हजार ५ सय ८ जना र सीमा सुरक्षा ऐन उल्लंघन गर्ने ४ हजार ५ सय ११ जनालाई पनि पक्राउ गरिएको साउदीको गृह मन्त्रालयले जनाएको छ । योसँगै एक साताको अवधिमा २२ हजार २१ जना गैरकानुनी रूपमा कार्यरत आप्रवासी कामदारलाई नियन्त्रणमा लिएको मन्त्रालयले जनाएको छ ।

सीमा पार गरेर साउदी अधिराज्य प्रवेश गर्ने क्रममा पक्राउ परेका कुल ९ सय ९८ जना रहेका छन्, जसमध्ये ३९ प्रतिशत यमनी, ६० प्रतिशत इथियोपियाली र १ प्रतिशत अन्य राष्ट्रका थिए भने ४१ जना बाहिरिन खोज्दा पक्राउ परेका छन् ।

उल्लंघन गर्नेलाई ओसारपसार, आश्रय दिने र रोजगारी दिने ११ जनालाई पनि पक्राउ गरिएको साउदी गृह मन्त्रालयले जनाएको छ । १३ हजार ९ सय ९६ पुरुष र १ हजार १ सय १२ महिला गरी जम्मा १५ हजार १ सय ८ आप्रवासीविरुद्ध दण्डात्मक कारबाहीअन्तर्गत विभिन्न चरणमा कानुनी प्रक्रियाबाट गुज्रिरहेका छन् । कुल ५ हजार ९ सय १७ उल्लंघनकारीलाई यात्रा कागजात प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगमा पठाइएको साउदीको गृह मन्त्रालयले जनाएको छ ।

२ हजार २ सय ३९ उल्लंघनकारीलाई उनीहरूको यात्रा आरक्षण पूरा गर्न सन्दर्भ गरिएको थियो भने ११ हजार २ सय ४२ उल्लंघनकर्तालाई देशनिकाला गरिएको जनाएको छ ।

साउदीमा कानुन उलंघन गर्नेलाई १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ । साउदी सरकारले कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाएको छ । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासी लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

यसैगरी, साउदीमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ६१ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । रियादस्थित दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित मुलुकको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।